• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

जेनजी आन्दोलनको आडमा फरार कैदीको गिरोह, उपत्यकामा लुटपाटको श्रृंखला


  • धनकुटा खबर
  • .

काठमाडौं । जेनजी आन्दोलनका बेला प्रहरी हिरासतबाट फरार भएका एक अभियुक्तले समूह निर्माण गरी काठमाडौं उपत्यकामा संगठित लुटपाट गर्दै आएको खुलासा भएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंले बिहीबार बिहान चलाएको विशेष कारबाहीका क्रममा गोली प्रहारपछि १० जनालाई नियन्त्रणमा लिएपछि अनुसन्धानले यो तथ्य बाहिर आएको हो। प्रहरीका अनुसार यस समूहको नेतृत्व हिरासतबाट फरार भएका व्यक्तिले नै गरेका थिए।

डाँका–चोरी मुद्दामा पक्राउ परेर महाराजगञ्जस्थित प्रहरी वृत्तको हिरासतमा रहेका काभ्रे भुम्लु गाउँपालिका–३ का २३ वर्षीय विनय तामाङ जेनजी आन्दोलनका क्रममा फरार भएका थिए। फरार भएपछि उनले अन्य व्यक्तिहरूलाई संगठित गर्दै उपत्यकामा लुटपाटको गिरोह सञ्चालन गरेको प्रहरीको निष्कर्ष छ।

परिसरका एसएसपी रमेश थापाका अनुसार विनयकै योजनामा १० जनाको समूह बनाएर विभिन्न स्थानमा श्रृंखलाबद्ध लुटपाट गरिएको हो। “हिरासतबाट भागेपछि उनले योजनाबद्ध रूपमा गिरोह खडा गरी अपराध बढाएको देखिन्छ,” एसएसपी थापाले बताए।

राति लुटपाट, दिनमा रेकी

प्रहरी अनुसन्धान अनुसार यो समूहले दिउँसो कार र ट्याक्सी प्रयोग गरेर सम्भावित लक्ष्यको निगरानी गर्ने र राति मोटरसाइकलमार्फत लुटपाट गर्ने गरेको थियो। सुनका गरगहना, नगद, मोबाइल लगायतका सामग्री लुट्ने उनीहरूको मुख्य लक्ष्य थियो।

लगातार लुटपाटको उजुरी आउन थालेपछि प्रहरीले सीसीटीभी फुटेज अध्ययन गर्दा एउटै मोटरसाइकलमा तीन जना सवार भएर अपराध गर्ने शैली पत्ता लागेको थियो।

९ घन्टाको अपरेसनपछि १० जना पक्राउ

बुधबार साँझ ६ बजेदेखि सुरु गरिएको अपरेसन बिहीबार बिहान ३ बजेसम्म चलाइएको थियो। यस अवधिमा १० जनालाई पक्राउ गर्न प्रहरी सफल भएको एसएसपी थापाले जानकारी दिए।

पक्राउ पर्नेहरूमा विनय तामाङसहित सिन्धुली, काभ्रे, रामेछाप, मोरङ, खोटाङ र सिन्धुपाल्चोकका विभिन्न उमेर समूहका व्यक्ति रहेका छन्। उनीहरूमध्ये अधिकांश यसअघि पनि डाँका–चोरी लगायतका मुद्दामा संलग्न रहेको सीआरएस विवरणमा देखिएको छ।

चेकिङमा भाग्न खोज्दा गोली

मुलपानी क्रिकेट मैदान नजिक चेकिङ पोस्टमा रोकिन आग्रह गर्दा विनयले प्रहरीलाई पेल्दै भाग्न खोजेको प्रहरीको दाबी छ। सो क्रममा धक्कामुक्की भएपछि प्रहरीले आत्मरक्षाका लागि गोली चलाउँदा विनयको खुट्टामा चोट लागेको हो।

उनलाई हाल राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

२७ स्थानमा लुटपाटको आशंका

प्रहरीका अनुसार यो गिरोहले स्वयम्भू, बौद्ध लगायत उपत्यकाका विभिन्न क्षेत्रमा कम्तीमा २७ पटक लुटपाट गरेको आशंका गरिएको छ। हालसम्म चार जनाले मात्र औपचारिक जाहेरी दिएका छन्।

लुटपाटका क्रममा खुकुरी प्रयोग गर्ने, नम्बर प्लेटमा हिलो लगाएर मोटरसाइकल चिनिन नदिने र घटना पश्चात तुरुन्त फरार हुने रणनीति अपनाइएको थियो।

हतियार, सवारीसाधन र सामान बरामद

प्रहरीले गिरोहबाट ६ थान मोटरसाइकल, एउटा कार, एउटा ट्याक्सी, खुकुरी तथा लुटपाटमा प्रयोग गरिएका मोबाइल, गहना र अन्य सामग्री बरामद गरेको छ।

प्रहरीका अनुसार अनुसन्धान अझै जारी छ र घटनाको संख्या बढ्न सक्ने सम्भावना रहेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖