काठमाडौँ । सिरहामा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) र डा.बाबुराम भट्टराई संरक्षक रहेको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)बिच चुनावी सहकार्य गर्ने सहमति भएको छ ।
शुक्रबार सिरहा क्षेत्र नम्बर–२ मा दुई पार्टीबिच चुनावी सहकार्य गर्ने सहमति भएको हो ।
प्रलोपाका केन्द्रीय सदस्य एवं सिरहा जिल्ला इन्चार्ज अरविन्द यादवले सिरहा–२ मा रास्वपाका उम्मेदवारलाई समर्थन गर्ने गरी चुनावी सहकार्य भएको बताए । यहाँ रास्वपाका शिव यादव प्रतिनिधि सभा उम्मेदवार बनेका छन् ।
जनताको हित सुशासन,लोकतान्त्रिक मूल्यमान्यता र परिवर्तनमुखी राजनीतिक अभ्यासलाई मजबुत बनाउन रास्वपालाई समर्थन गरिएको प्रलोपाका नेता यादवले बताए ।
नेता यादवले भने, ‘पार्टीको निर्णय भन्दा पनि जिल्ला तथा क्षेत्रका नेता तथा कार्यकर्ताको भावना अनुसार रास्वपालाई समर्थन गरेका हौँ।’
रास्वपाका शिव यादव र प्रलोपाका अरविन्द यादवले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन हुँदैछ ।
