• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

फागुन २१ गते चुनाव हुने टुङ्गो छैन: अध्यक्ष ओली


  • धनकुटा खबर
  • .

काठमाडौ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन २१ गतेको निर्वाचन हुनेमा आशंका व्यक्त गरेका छन्।

शनिबार पार्टीको ओखलढुंगा-काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले भौगोलिक प्रतिकुलता र सरकारको नियतका कारण तोकिएको मितिमा चुनाव हुने टुङ्गो नरहेको बताएका हुन्।

अध्यक्ष ओलीले हिमाली र उच्च पहाडी भेगमा चिसोका कारण मानिसहरू नभएको अवस्थामा चुनाव गर्नुको औचित्य नहुने तर्क गरे।

उनले भने, ‘अहिलेको सरकार फागुन २१ गते चुनाव गर्छु भन्दै छ। २१ गते चुनाव हुन्छ कि हुँदैन टुङ्गो छैन। हिमाली भेगमा मान्छे छैन, चुनावका लागि हिमाल चढ्न जस्तै कोही भोट खसाउन जानेवाला छैन।’

मानिस नभएको ठाउँमा बाकस थापेर मात्र चुनाव नहुने भन्दै उनले उच्च पहाडी भेगमा मतदान नै नहुने अवस्था रहेको जिकिर गरे।

‘मान्छे नभएका ठाउँमा बाकस थापेर के हुन्छ ? चार हजार मान्छेले भोट हाल्नुपर्ने ठाउँमा चार जनाले भोट हालेर बाकस पठाएर फिर्ता पठाएर के हुन्छ ?’ ओलीले प्रश्न गरे।

ओलीले यो सरकारसँग शासन गर्ने अधिकार र जनमत दुवै नरहेको दाबी गरे। उनले सरकारले जबर्जस्ती चुनावको नाटक मञ्चन गर्न खोजेको र प्रशासनिक हेरफेर गरेर चुनाव जित्ने प्रपञ्च रचेको आरोप लगाए।

‘सरकारको पक्षधरता कतैपट्टि हुने र कसैलाई जिताउने वा हराउने खालका क्रियाकलाप भए भने त्यो भन्दा अनिष्ट केही हुँदैन,’ ओलीले चेतावनी दिँदै भने, ‘यदि सरकारले यसलाई जिताउने र उसलाई जिताउने भनेर लाग्छ भने त्यस्तो निर्वाचन र त्यसको परिणाम स्वीकार्य हुँदैन।’

ओलीले सर्वोच्च अदालतले संसद् पुनःस्थापना गरेपछि संविधान संशोधनमार्फत सर्वपक्षीय सरकार बनाउने र त्यसले मात्र स्वच्छ र धाँधलीरहित निर्वाचन गराउन सक्ने विकल्प समेत अघि सारेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖