• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

रास्वपाका नेता राणाले दिए पार्टी सदस्यताबाट राजीनामा


  • धनकुटा खबर
  • .

राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा) का नेता प्रणय शमशेर राणा ले पार्टी सदस्यताबाट राजीनामा दिएका छन्। उनले बिहीबार पार्टीका महामन्त्री कबिन्द्र बुर्लाकोटी लाई सम्बोधन गर्दै पत्र पठाएर राजीनामाको घोषणा गरेका हुन्।

राजीनामा पत्रमा राणाले पार्टीभित्र देखिएको बेथिति र आफूले महसुस गरेको नैतिक असन्तोषका कारण सदस्यताबाट अलग हुन बाध्य भएको उल्लेख गरेका छन्। “सबै बेथितिका बावजुद मुकदर्शक भएर पार्टीमै रहिरहन मेरो विवेक र इमानले नमानेका कारण आजको मितिबाट राष्ट्रिय स्वतन्त्र पार्टीको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा गरेको व्यहोरा जानकारी गराउन चाहन्छु,” उनले लेखेका छन्।

राणाले आन्तरिक लोकतान्त्रिक अभ्यास सही ढंगले नगर्ने पार्टीले भविष्यमा सरकारमा गएर उत्कृष्ट काम गर्छ भन्ने विश्वास गर्न नसक्ने बताएका छन्। उनले आफू अन्धभक्ति गर्न नचाहेको स्पष्ट पार्दै पार्टीको व्यवहार र अभ्यासबीच ठूलो अन्तर देखिएको टिप्पणी गरेका छन्।

पछिल्लो समय प्रतिनिधि सभा निर्वाचनका लागि रास्वपाले गरेको ‘प्राइमरी इलेक्सन’ प्रक्रियाप्रति राणा असन्तुष्ट थिए। उनका अनुसार प्राइमरी चुनावमा सधैं ५० प्रतिशत चलखेलको बाटो खुला राखिएको थियो। “अहिले आएर विशेष परिस्थितिको नाममा संगठनको आफ्नो नेतृत्व छान्ने अधिकार पनि लुटियो,” उनले पत्रमा उल्लेख गरेका छन्।

त्यस्तै, १ हजार रुपैयाँ सदस्यता शुल्कबाट ३०० पालिकामा रकम पठाउने भनिए पनि त्यो कहिल्यै कार्यान्वयन नभएको उनले दाबी गरेका छन्। प्राइमरी प्रक्रियाका लागि उठाइएको ठूलो रकममा समेत आर्थिक अपारदर्शिता र अपचलन देखिएको उनको आरोप छ।

पार्टी स्थापना कालमा गरिएको ‘बेथितिको अन्त्य, थितिको थालनी’ भन्ने वाचा उल्टिएर ‘थितिको अन्त्य–बेथितिको थालनी’ मा परिणत भएको राणाको टिप्पणी छ। केन्द्रमा रहेका पदाधिकारी तथा अधिकांश केन्द्रीय सदस्यहरू उक्त बेथितिका साझेदार बनेको आरोप लगाउँदै उनले सीमित रूपमा आवाज उठाउनेहरू पनि विभिन्न कारणले मौन बस्न बाध्य भएको बताएका छन्।

“सुशासन, जवाफदेहिता र आर्थिक पारदर्शिता अब पार्टीको नारामा मात्रै सीमित रहेको छ, अभ्यासमा फिटिक्कै छैन,” उनले पत्रमा उल्लेख गरेका छन्। राणाको राजीनामासँगै रास्वपाभित्रको आन्तरिक व्यवस्थापन र पारदर्शितामाथि नयाँ बहस सुरु भएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖