काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागी नेपाल पुलिस क्लबका स्टार क्रिकेटर करण केसी कारबाहीमा परेका छन्। अम्पायरहरूप्रति सामाजिक सञ्जालमार्फत विवादास्पद अभिव्यक्ति दिएको ठहर गर्दै नेपाल क्रिकेट संघ (क्यान) ले उनलाई सजाय सुनाएको हो।
क्यानले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै करणको अभिव्यक्ति खेल भावना विपरीत रहेको जनाएको छ। उनले खेल सञ्चालन गरिरहेका अम्पायरहरूको भूमिकालाई लिएर सामाजिक सञ्जालमा असन्तुष्टि पोखेका थिए।
सोही विषयलाई लिएर क्यानले गम्भीर ध्यानाकर्षण भएको बताउँदै उनलाई प्रधानमन्त्री कपको आगामी एक खेलका लागि प्रतिबन्ध लगाएको छ। प्रतिबन्धसँगै उनले उक्त खेलको शतप्रतिशत म्याच शुल्क समेत जरिवाना स्वरूप बुझाउनुपर्नेछ।
क्यानका प्रवक्ता छुम्बी लामाद्वारा हस्ताक्षरित विज्ञप्तिमा सम्बन्धित सरोकारवालाहरूसँग समन्वय गरी यो निर्णय लिइएको उल्लेख छ। यसअघि, नेपाल क्रिकेट अम्पायर्स तथा स्कोरर्स संघले नेपाली राष्ट्रिय टोलीका फास्ट बलर करन केसीको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएको थियो। संघको शनिबारको आकस्मिक बैठकपछि एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाल क्रिकेट संघसँग दोषी (करण)माथि कडा कारबाहीको माग पनि गरेको थियो ।
यता, केसीले आफ्नो अभिव्यक्तिबारे माफी मागेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यदि खेलाडी र अम्पायरबिच हातपात हुँदा के हुन्छ होला ? भनेर मजाकका रूपमा लिएको एउटा जिज्ञासा व्यक्त गरेको थिएँ। क्रिकेटमा अम्पायर, कोच र खेलाडी सबै एउटै परिवारजस्तो हुने भएकोले उक्त मजाक गरेर लेखिएको अभिव्यक्तिले कसैलाई ठेस पुगेको भए क्षमा याचना गर्दछु ।’
