• Sunday 29th of November 2026

‘क्यान’ लाई कारबाहीको तयारी, मन्त्रालयले माग्यो अन्तिम स्पष्टीकरण


  • धनकुटा खबर
  • .

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीमाथि छानबिनमा सहयोग नगरेको भन्दै युवा तथा खेलकुद मन्त्रालयले नेपाल क्रिकेट संघ (क्यान) विरुद्ध कारबाही प्रक्रिया अघि बढाएको छ।

मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई पत्राचार गर्दै क्यानमाथि आवश्यक कारबाही अघि बढाउन निर्देशन दिएको हो। क्यानले राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा २८ अनुसार मन्त्रालय र परिषद्मा बुझाउनुपर्ने लेखा तथा श्रेस्ता सम्बन्धी कागजात उपलब्ध नगराएको आरोप लगाइएको छ।

अख्तियारले २०८१ मङ्सिर र फागुनमा पटक–पटक पत्राचार गर्दा पनि क्यानले आवश्यक विवरण नबुझाएपछि मुद्दा अनिर्णित अवस्थामा पुगेको मन्त्रालयको निष्कर्ष छ।

मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै क्यानलाई अन्तिम पटक चेतावनीसहित स्पष्टीकरण सोध्न निर्देशन दिएको छ। साथै, ऐनको दफा २९ अनुसार किन कारबाही वा निलम्बन नगर्ने भन्ने विषयमा जवाफ माग गरिएको छ।

क्यानले मागिएका कागजात तथा चित्तबुझ्दो जवाफ नदिएमा संघलाई निलम्बनसम्मको कडा कदम चाल्न सकिने मन्त्रालयले स्पष्ट पारेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖