• Wednesday 7th of October 2026

ग्रिनेड हातैले टिपेर हमासतिरै फालेका विपिनलाई ‘लोकेट’ गर्ने प्रयास जारी


  • धनकुटा खबर
  • .

काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउदले इजरायलमा चलिरहेको युद्धमा बेपत्ता रहेका नेपाली विद्यार्थी विपिन जोशीको स्थिति पत्ता लगाइदिन अन्तर्राष्ट्रिय संघसंस्था र कूटनीतिक मिसनसँग आग्रह गरेका छन् । आइतबार ललितपुरको भैँसेपाटीस्थित निवासमा अन्तर्राष्ट्रिय समाचार संस्थाका प्रतिनिधिसँग कुराकानी गर्दै परराष्ट्रमन्त्री साउदले बेपत्ता जोशीको अवस्था पत्ता लगाइदिन अन्तर्राष्ट्रिय संघसंस्था र कूटनीतिक नियोग एवं मिसनहरूसँग आग्रह गरेका हुन् ।

कुराकानीका क्रममा परराष्ट्रमन्त्री साउदले प्रत्यक्षदर्शी नेपाली विद्यार्थीले बताएअनुसार विपिन हमास समूहको कब्जामा रहेको हुन सक्ने उल्लेख गरे । ‘विपिनसहितका नेपाली विद्यार्थीहरू बंकरमा लुकेर बसेको वेलामा आक्रमणकारीले छोटो समयमा पटकपटक आक्रमण गरेको देखिन्छ । पहिले गोली चलाएको र त्यसपछि ग्रिनेड फालेको देखिन्छ,’ उनले भने, ‘प्रत्यक्षदर्शी विद्यार्थीले भनेअनुसार दुईवटा ग्रिनेड फाल्दा एउटा नपड्किँदै विपिनजीले एउटा ग्रिनेड बाहिर फ्याँकेको देखिन्छ ।’

प्रत्यक्षदर्शी विद्यार्थीले देखेअनुसार त्यसपछि केही थाइल्यान्डका विद्यार्थीसँग विपिनलाई पनि अपहरण गरेर लगेको साउदले बताए । ‘त्यसदेखि नै उनी अज्ञात अवस्थामा छन्, उनको अवस्था अहिलेसम्म पत्ता लाग्न सकेको छैन,’ उनले भने, ‘उहाँको स्थिति पत्ता लगाइदिनका लागि हामीले इजरायल सरकारसँग आग्रह गरेका छौँ। इजरायल सरकारले पनि उहाँको स्थिति के हो भन्ने विषयमा पत्ता लगाउन प्रतिबद्धता जनाएको छ ।’
साथै सरकारले हमाससँग सम्बन्ध भएका मुलुकहरूसँग विपिनको अवस्थाबारे बुझ्न कूटनीतिक पहल गरेको छ ।

हमाससँग लेबनान, इरान, टर्किलगायतका मुलुकहरूको राम्रो सम्बन्ध रहेको बताइएको छ । हमाससँग राम्रो सम्बन्ध भएका कुन-कुन मुलुकसँग कूटनीतिक संवाद भइरहेको छ भन्नेबारेमा भने मन्त्री साउदले जानकारी दिएनन् । उनले परिणाम आएपछि त्यसबारे सबै कुरा सार्वजनिक गरिने तर्क गरे ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖