भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गर्ने तयारी अन्तिम चरणमा पुर्याएको छ। सरकारले वैशाख २९ गतेभित्र नतिजा प्रकाशन गर्न दिएको समयसीमाअनुसार बोर्डले तीव्र रूपमा काम गरिरहेको जनाएको छ।
कक्षा १० का परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार परीक्षार्थीको प्राप्ताङ्क कम्प्युटरमा इन्ट्री गर्ने काम सम्पन्न भइसकेको छ भने त्रुटि भए–नभएको रुजु गर्ने प्रक्रिया पनि अन्तिम चरणमा पुगेको छ। कुनै प्राविधिक समस्या नआए मङ्गलबार नतिजा सार्वजनिक गरिने उनले बताएका छन्।
यसैबीच परीक्षा नियन्त्रण कार्यालयले एसइईको नतिजा हेर्ने विधिबारे सूचना जारी गरेको छ। बोर्डका अनुसार विद्यार्थीहरूले एसएमएस, आइभिआर तथा विभिन्न वेबसाइटमार्फत आफ्नो नतिजा हेर्न सक्नेछन्।
मोबाइलको मेसेज बक्स प्रयोग गरेर आधिकारिक सर्टकोडमार्फत नतिजा प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ। साथै, नेपाल टेलिकमको १६०० नम्बरमा कल, एसएमएस तथा युएसएसडी सेवामार्फत पनि नतिजा हेर्न सकिने जनाइएको छ।
नतिजा परीक्षा नियन्त्रण कार्यालय कक्षा १० को वेबसाइट, राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट तथा नेपाल टेलिकमको वेबसाइटमार्फत समेत हेर्न सकिनेछ।
