• Wednesday 7th of October 2026

बालेन सरकारको नयाँ कार्यविभाजन: कसलाई कुन मन्त्रालयको जिम्मेवारी?


  • धनकुटा खबर
  • .

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री वालेन्द्र शाहको सिफारिसमा मौजुदा मन्त्रिपरिषदमा हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन गरेका छन्।

२०८३ साल वैशाख ३१ गते बिहीबार जारी गरिएको राष्ट्रपति कार्यालयको विज्ञप्ति अनुसार नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम यो नयाँ कार्यविभाजन गरिएको हो। नयाँ व्यवस्था अनुसार प्रधानमन्त्री वालेन्द्र शाहले रक्षा र गृह मन्त्रालयका साथै विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको कार्यभार आफैँसँग राखेका छन्।

मन्त्रिपरिषद्को नयाँ कार्यविभाजन अनुसार डा. स्वर्णिम वाग्लेलाई अर्थ मन्त्रालय, शिशिर खनाललाई परराष्ट्र र बिराज भक्त श्रेष्ठलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी दिइएको छ। त्यसैगरी सुनिल लम्सालले पूर्वाधार विकास, सोविता गौतमले कानून, न्याय तथा संसदीय मामिला र सीता बादीले महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयको कार्यभार सम्हाल्नेछिन्। प्रतिभा रावललाई भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन, निशा मेहतालाई स्वास्थ्य तथा खाद्य स्वच्छता र सस्मित पोखरेललाई शिक्षा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी तोकिएको छ।

यसैगरी खडक राज पौडेललाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, डा. विक्रम तिमिल्सिनालाई सूचना तथा सञ्चार, गीता चौधरीलाई कृषि, वन तथा पर्यावरण, गौरी कुमारीलाई उद्योग, वाणिज्य तथा आपूर्ति र रामजी यादवलाई युवा, श्रम तथा रोजगार मन्त्रालयको जिम्मेवारी सुम्पिएको छ।

राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा जारी विज्ञप्तिमा उल्लेख भए अनुसार यो कार्यविभाजन २०८२ साल चैत्र १३ गते गठित मौजुदा मन्त्रिपरिषद्मा प्रधानमन्त्रीको सिफारिस बमोजिम गरिएको हो। यस नयाँ कार्यविभाजनसँगै सरकारले आफ्ना प्राथमिकताका क्षेत्रहरूमा कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने लक्ष्य राखेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖