• Wednesday 7th of October 2026

प्रमुख दलहरूको संयुक्त सरकार बन्ने प्रचण्डको संकेत


  • धनकुटा खबर
  • .

काठमाडौ । नेपाली कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सातै प्रदेशमा प्रमुख दलहरूबीच संयुक्त सरकार बन्ने संकेत गरेका छन्। उनले प्रदेश सरकारमा नयाँपन ल्याउनका लागि कांग्रेस, एमाले, नेकपा र मधेस केन्द्रित दलहरू मिलेर साझा सरकार बन्ने संकेत गरेका हुन्।

‘साझा सरकार बनाउँदा लोकतन्त्र र गणतन्त्रको पक्षमा, शान्ति संझौता र संविधानसभाका पक्षधर सबै शक्ति एक ठाउँमा उभिएको सन्देश पनि जान्छ,’ प्रेस सेन्टर सुर्खेतले आइतबार वीरेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘यसले जनतालाई पनि राहत हुन्छ, सरकार पनि राम्रो चल्छ।’

सर्वदलीय सरकार गठनका लागि पहल भइरहेको पनि उनले जानकारी दिए। ‘एमाले र कांग्रेसले छुट्टाछुट्टै मिलेर सरकार बनाऔं भनेर प्रस्तावहरू गरिरहेका छन्,’ प्रचण्डले भने, ‘यो वा त्योसँग मिलेर सरकार बनाउने खेलमा हामी छैनौं, सर्वदलीय सरकारको पहल गरिरहेका छौं।’

प्रचण्डले कम्युनिष्ट पार्टीहरूबीच ध्रुवीकरणको छलफल चलिरहेको बताए। ‘चुनावपछि बामपन्थी आन्दोलनले ठूलो धक्का खाएको छ,’ उनले भने, ‘सहकार्य र एकताका लागि सबै कम्युनिष्ट पार्टीहरुसँग छलफल चलिरहेको छ।’

उनले दुई तिहाई नजिकको सरकारले संसद्लाई छलेर अध्यादेशको बाटोमा जानु लाजको मर्दो कुरा भएको बताए। ‘सरकार आफैँले संसद् बोलाउने, बोलाएको भोलिपल्ट त्यसलाई रोकेर अध्यादेश ल्याउने भनेको लोकतन्त्रको सबैभन्दा ठूलो उपहास हो,’ उनले भने, ‘यसको प्रतिवाद सदन र सडकबाट गर्नुपर्ने अवस्था आइलागेको छ।’

उनले संविधानको रक्षाका लागि सदन र सडकबाट प्रतिवाद गर्नुपर्ने अवस्था सृजना भएको बताए। ‘सरकारका गतिविधिहरूले सर्मथन गर्न सकिने केही देखिएन, सदनमा सरकारलाई अहिले आलोचनाको रूपमा, सर्तक हुनका लागि सुझावका लागि कुराहरू राखेको छु,’ उनले भने, ‘सरकारले यी कुरालाई गम्भीर रूपमा लिएन भने सदन र सडकबाट प्रतिवाद गर्नुपर्ने अवस्था आउँछ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖