काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोग ले पूर्वप्रधानमन्त्री सुशीला कार्की र पूर्व गृहमन्त्री सुधन गुरुङ माथि थप अनुसन्धान गर्न सिफारिस गरेको छ ।
भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा भएको मानव अधिकार उल्लङ्घनबारे छानबिन गर्न आयोग सदस्य डा. लिली थापा को संयोजकत्वमा गठित समितिले दिएको प्रतिवेदनका आधारमा आयोगले यस्तो सिफारिस गरेको हो ।
आयोगका अनुसार आन्दोलनका क्रममा भएको मानवीय तथा भौतिक क्षतिमा उनीहरूको संलग्नता रहे–नरहेको, उनीहरूको अभिव्यक्तिबाट प्रदर्शनकारीहरू थप आक्रोशित वा उत्तेजित भएका हुन् वा होइनन् भन्ने विषयमा सूक्ष्म अनुसन्धान आवश्यक देखिएको छ ।
साथै सार्वजनिक शान्ति र सुव्यवस्थामा खलल पुग्ने गतिविधि वा त्यसको दुरुत्साहन उनीहरूबाट भए–नभएको विषयमा समेत विस्तृत अनुसन्धान गर्न आयोगले सम्बन्धित निकायलाई सिफारिस गरेको छ ।
आयोगले अनुसन्धान प्रक्रियामा सम्बन्धित व्यक्तिहरूको स्वच्छ सुनुवाइको हक सुनिश्चित गर्दै आम नागरिकलाई समेत सूचित गराएर निष्पक्ष छानबिन गर्न र दोषी देखिए कानुनअनुसार कारबाही गर्न सुझाव दिएको छ ।
