काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता वर्षमान पुन ले सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्मबाट उदाएका राजनीतिक शक्तिहरू स्थानीय तहको निर्वाचन नआउँदै कमजोर हुन सक्ने बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै पुनले डिजिटल लहरबाट स्थापित भएका शक्ति र आन्दोलनहरू दिगो नहुने दाबी गरे। उनले अहिले तीव्र गतिमा बढिरहेको राजनीतिक लहर त्यत्तिकै तीव्रताका साथ ओरालो लाग्न सक्ने बताए।
उनले भने, “अहिले यति तीव्रतामा आएको आन्दोलन त्यस्तै तीव्रतामा तल जान सक्छ। यो निर्वाचन गयो, लग्यो। ०८२ सकियो होइन, स्थानीय चुनाव जाँदा नजाँदै पनि तल झर्न सक्छ।”
पुनले भविष्यमा पुनः पुरानै स्थापित राजनीतिक दलहरूले देशको नेतृत्व सम्हाल्ने अवस्था आउन सक्ने दाबी गरे। नेकपाले सही रणनीति र क्रान्तिकारी ढंगले अघि बढे हाल ‘नयाँ शक्ति’ का रूपमा देखिएका समूहहरू छिट्टै कमजोर हुन सक्ने उनको भनाइ थियो।
उनका अनुसार विगतको पञ्चायतविरुद्धको संघर्ष, जनआन्दोलन वा जनयुद्धजस्तो बलियो संगठनात्मक आधार अहिलेका डिजिटल आन्दोलनहरूमा देखिँदैन। त्यसैले सामाजिक सञ्जालमा आधारित ‘भर्चुअल’ लहर स्थायी नहुने उनको तर्क छ।
पुनले अहिलेको डिजिटल युगमा एजेण्डा सामाजिक सञ्जालमार्फत तय हुने र त्यहाँ कुनै निश्चित नेतृत्व नहुने अवस्था रहेको बताए। “यो यति आक्रामक र तीव्र छ कि कतिखेर कहाँ विस्फोट हुन्छ भन्न सकिने अवस्था छैन,” उनले भने।
उनले पछिल्लो निर्वाचनमा सामाजिक सञ्जालको प्रभाव उल्लेखनीय देखिएको भन्दै भर्चुअल दुनियाँमा बनेको जनमतलाई राजनीतिक दलहरूले गम्भीर रूपमा बुझ्नुपर्ने बताए। साथै, दलहरूले आफ्ना संगठनलाई प्रविधिमैत्री बनाउँदै सामाजिक सञ्जालमा प्रभावकारी उपस्थिति जनाउनुपर्ने आवश्यकता औँल्याए।
उदाहरण दिँदै पुनले २०७९ सालको निर्वाचनपछि मधेस क्षेत्रमा उदाएको राजनीतिक लहरलाई स्मरण गरे। उनले भने, “एकदम छिटो माथि गयो, छिटो तल पनि जान सक्छ। यस्ता आन्दोलनहरूको स्वभाव नै त्यस्तै हुन्छ।”
