काठमाडौं, जेठ १७ — सामाजिक सञ्जाल फेसबुकमा आफूले ‘अन्तिम भिडियो’ भन्दै भावुक सन्देश सार्वजनिक गरेकी शोभा पाठकलाई प्रहरीले उद्धार गरी उपचारका लागि अस्पताल भर्ना गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पाठकलाई काठमाडौं महानगरपालिका–१६ स्थित बनस्थली क्षेत्रबाट उद्धार गरी मनमोहन मेमोरियल अस्पतालमा उपचारका लागि भर्ना गरिएको हो।
प्रहरीका अनुसार फेसबुकमार्फत रोइरहेको अवस्थामा उनले ‘अन्तिम भिडियो’ शीर्षकमा सन्देश सार्वजनिक गरेपछि सुरक्षा निकाय सतर्क बनेको थियो। उक्त भिडियो सार्वजनिक भएपछि प्रहरी टोलीले खोजी गरी उनलाई बनस्थलीबाट उद्धार गरेको जनाएको छ।
पाठक लामो समयदेखि विभिन्न विषयमा न्यायको माग गर्दै आन्दोलनरत थिइन्। यसअघि पनि उनले आफ्ना मागहरू सम्बोधन गराउन सडकमा अनशन बसेर आवाज उठाउँदै आएकी थिइन्।
हाल उनको स्वास्थ्य अवस्थाबारे विस्तृत जानकारी सार्वजनिक गरिएको छैन। प्रहरीले उनको उपचार र आवश्यक निगरानीको व्यवस्था गरिएको जनाएको छ। साथै, उनका आफन्तहरूसँग सम्पर्क स्थापित गर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ।
घटनापछि सामाजिक सञ्जालमा पाठकको स्वास्थ्य अवस्था र सुरक्षाप्रति व्यापक चासो व्यक्त गरिएको छ। प्रहरीले मानसिक तथा भावनात्मक संकटमा परेका व्यक्तिहरूबारे जानकारी पाएमा तत्काल सम्बन्धित निकायलाई खबर गर्न नागरिकलाई आग्रह गरेको छ।
