चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत दोस्रो चरणको पदाधिकारी निर्वाचनका लागि निर्वाचन कार्यतालिका पाँचौँ पटक संशोधन गरी सार्वजनिक गरिएको छ।
संशोधित कार्यतालिका अनुसार दोस्रो चरणमा हुने ६ पदाधिकारी पदका लागि बिहीबार राति सवा ९ बजेदेखि सवा १२ बजेसम्म मतदान गर्ने समय निर्धारण गरिएको छ। मतगणनाको नतिजा राति साढे १ बजे सार्वजनिक गर्ने तयारी गरिएको छ।
त्यसअघि पदाधिकारी पदका लागि उम्मेदवारी फाराम वितरण साँझ साढे ६ बजेदेखि ७ बजेसम्म हुनेछ भने दाबी–विरोध प्रक्रिया राति ८ बजेसम्मका लागि तोकिएको छ।
पहिलो चरणको निर्वाचनको नतिजा सार्वजनिक गर्न ढिलाइ भएपछि कार्यतालिका संशोधन गरिएको बताइएको छ। १९ सदस्यीय पदाधिकारी संरचनामध्ये सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन्।
बाँकी दुई उपसभापति, एक महामन्त्री र तीन सहमहामन्त्री पदका लागि दोस्रो चरणको निर्वाचन हुने प्रवक्ता मनिष झाले जानकारी दिएका छन्। यद्यपि यी पदहरूमा सहमतिको प्रयास पनि जारी रहेकाले मतदान नहुने सम्भावना समेत रहेको बताइएको छ।
पार्टी विधानअनुसार एक वरिष्ठ नेता, एक उपसभापति, एक महामन्त्री, दुई सहमहामन्त्री, एक प्रवक्ता, तीन सह–प्रवक्ता, एक कोषाध्यक्ष र दुई सह–कोषाध्यक्ष सभापतिबाट मनोनीत गरिने व्यवस्था रहेको छ।
रास्वपाको केन्द्रीय समिति १५१ सदस्यीय रहने व्यवस्था छ भने सात प्रदेशका पदाधिकारी पदेन सदस्य रहनेछन्। त्यसमध्ये ५१ जना सदस्य सभापतिले मनोनीत गर्ने अधिकार पाएका छन्।
