काठमाडौं । गृहमन्त्री सुधन गुरुङले गणेश नेपालीको आत्मदाह प्रकरणलाई लिएर संसद्मा उठेका प्रश्नहरूको जवाफ दिँदै सरकारको बचाउ गरेका छन्। शुक्रबार प्रतिनिधिसभामा बोल्दै उनले सांसदहरूप्रति प्रतिप्रश्न गर्दै भने, ‘तपाईँहरू हिजो अस्पतालमा कति जना हुनुहुन्थ्यो ?’
गृहमन्त्री गुरुङले आत्मदाह प्रयासपछि आफू वीर अस्पताल पुगेर उपचारमा कुनै कमी हुन नदिन सक्रिय रूपमा लागेको बताए। उनले चिकित्सकहरूको सल्लाहअनुसार गणेश नेपालीलाई भारत उपचारका लागि पठाउने तयारीसमेत गरिएको तर स्वास्थ्य अवस्थाका कारण सम्भव नभएको स्पष्ट पारे।
‘उहाँलाई सुरक्षित रूपमा भारत लैजान हामी रातभर लागिपर्यौँ। परिवारलाई कसरी सान्त्वना दिने भन्ने विषयमा पनि गृह मन्त्रालयमा छलफल भइरहेको छ,’ उनले भने।
सांसदहरूको आलोचनाप्रति प्रतिक्रिया दिँदै गुरुङले ‘मुखले बोलेर मात्र जनताको सेवा हुँदैन, फिल्डमा गएर काम गर्नुपर्छ’ भन्दै आफू स्टन्टबाजी गर्न नभई देशको सेवा गर्न आएको बताए।
घटनाको जिम्मेवारीबारे उठेका प्रश्नमा उनले तीन तहको सरकारको भूमिका उल्लेख गर्दै त्रिपुरेश्वरमा ह्वील लक महानगर प्रहरीद्वारा लगाइएको, ट्राफिक प्रहरीले होइन भन्ने स्पष्ट पारे। उनले स्थानीय सरकार र प्रदेश सरकारको जिम्मेवारीबारे पनि प्रश्न उठाउँदै प्रतिपक्षी दलहरूप्रति संकेत गरे।
साथै, उनले कालो सिसालगायतका कानुनी व्यवस्था आफूहरूले नभई अघिल्ला सरकारले बनाएको भन्दै वर्तमान सरकारले केवल कानुन कार्यान्वयन गरेको दाबी गरे।
