काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत अर्जेन्टिना र स्विट्जरल्यान्डबीचको क्वार्टरफाइनल खेलको अतिरिक्त समयको पहिलो हाफ पनि गोलरहित सकिएको छ।
निर्धारित ९० मिनेट १–१ को बराबरीमा सकिएपछि अतिरिक्त समयमा प्रवेश गरेको खेलमा दुवै टोलीले केही अवसर सिर्जना गरे पनि त्यसलाई गोलमा परिणत गर्न सकेनन्।
अर्जेन्टिनाले खेलको १०औँ मिनेटमा एलेक्सिस म्याक एलिस्टरको गोलमार्फत अग्रता लिएको थियो। कप्तान लियोनेल मेस्सीको असिस्टमा भएको उक्त गोललाई स्विट्जरल्यान्डले ६७औँ मिनेटमा ड्यान एन्डोयेको गोलमार्फत बराबरीमा परिणत गरेको थियो।
स्विट्जरल्यान्ड ७२औँ मिनेटदेखि ब्रिल एम्बोलो दोस्रो पहेँलो कार्डपछि रातो कार्ड पाउँदै १० खेलाडीमा सीमित भए पनि अर्जेन्टिनाले त्यसको फाइदा उठाउँदै अतिरिक्त समयको पहिलो १५ मिनेटमा निर्णायक गोल गर्न सकेन।
अब खेलको अन्तिम १५ मिनेट बाँकी छ। यदि दोस्रो अतिरिक्त समयमा पनि कुनै टोलीले गोल गर्न नसके सेमिफाइनल पुग्ने टोलीको टुंगो पेनाल्टी सुटआउटबाट लाग्नेछ। विजेताले अन्तिम चारमा इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ।
