काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रथम महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको नामावली पार्टीको आधिकारिक वेबसाइटमा अद्यावधिक गरेको छ।
चितवनमा असार ७ देखि १२ गतेसम्म सम्पन्न प्रथम महाधिवेशनबाट सात पदाधिकारी र ९९ जना केन्द्रीय सदस्य निर्वाचित भएका थिए।
वेबसाइटमा सार्वजनिक गरिएको वरीयताअनुसार पार्टी सभापति रवि लामिछाने पहिलो स्थानमा रहेका छन्। उपसभापति डा. स्वर्णिम वाग्ले दोस्रो र महिला उपसभापति सोविता गौतम तेस्रो वरीयतामा छन्।
त्यसैगरी, महामन्त्री विपिनकुमार आचार्य चौथो, सहमहामन्त्री असिम शाह पाँचौँ, हरि ढकाल छैटौँ तथा महिला सहमहामन्त्री निशा डाँगी सातौँ वरीयतामा रहेका छन्।
केन्द्रीय सदस्यहरूको वरीयतामा शिशिर खनाल आठौँ, सागर ढकाल नवौँ, डा. तोसिमा कार्की दशौँ, रञ्जु दर्शना ११औँ तथा निवर्तमान प्रवक्ता मनिष झा १२औँ स्थानमा छन्। निवर्तमान महामन्त्री कवीन्द्र बुर्लाकोटी १३औँ वरीयतामा परेका छन्।
यस्तै, विवेकशील साझाकी पूर्वअध्यक्ष समीक्षा बासकोटा २७औँ तथा निवर्तमान कोषाध्यक्ष लिमा अधिकारी ३३औँ वरीयतामा रहेकी छन्।
रास्वपाको केन्द्रीय समिति १५८ सदस्यीय रहने व्यवस्था छ। हाल ९९ जना निर्वाचित भइसकेका छन् भने एक वरिष्ठ नेता, ११ पदाधिकारीसहित ५१ जना सदस्य मनोनयन गर्न बाँकी रहेको पार्टीले जनाएको छ।
