• Monday 5th of October 2026

प्रधानमन्त्रीले हाम्रो कुरा आत्मसात् गर्नुभयो, सम्झौता कार्यान्वयन हुनुपर्छ:राजेन्द्र महतो


  • धनकुटा खबर
  • .

काठमाडौं । राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतो ले प्रधानमन्त्री बालेन्द्र शाह ले आफूहरूले उठाएका विषय गम्भीरतापूर्वक सुनेको र प्रतिबद्धताअनुसार काम गर्ने विश्वास व्यक्त गरेका छन्।

प्रधानमन्त्रीसँगको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै महतोले सुनसरी घटनाप्रति सरकारले ढिलो प्रतिक्रिया दिँदा ठूलो क्षति भएको कुरा आफूहरूले प्रधानमन्त्रीसमक्ष राखेको बताए।

उनले आफूहरूले यसअघि तयार पारेको आठबुँदे प्रस्ताव राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई दिएको र सोही विषय प्रधानमन्त्रीलाई पनि जानकारी गराइएको बताए।

महतोले सुनसरीबाट सुरु भएको तनाव मधेशमा फैलिँदै गएको उल्लेख गर्दै त्यसलाई तत्काल नियन्त्रण गर्न सरकार सक्रिय हुनुपर्ने बताए।

“राज्यले समयमै प्रतिक्रिया नदिँदा अवस्था जटिल बन्यो। साम्प्रदायिक तनाव फैलिन नदिन तत्काल प्रभावकारी कदम चाल्न आवश्यक छ,” उनले भने।

उनले सामाजिक सद्भाव कायम गर्न सबै राजनीतिक दल सहयोग गर्न तयार रहेको उल्लेख गर्दै मानिस मानिसबाट डराउने अवस्था सिर्जना हुनु मुलुकको हितमा नभएको बताए।

महतोले प्रधानमन्त्रीले दुई–चार दिनअघि नै राष्ट्रलाई सम्बोधन गरेको भए परिस्थिति यति जटिल नबन्ने दाबी गरे। गृहमन्त्रीको पहलमा भएको सम्झौता कार्यान्वयन गर्न पनि उनले सरकारलाई आग्रह गरे।

प्रधानमन्त्रीले सुनसरी घटनाको छानबिन समितिको प्रतिवेदन आएपछि दोषीमाथि कानुनी कारबाही अघि बढाउने प्रतिबद्धता जनाएको महतोले जानकारी दिए।

उनले समाजमा साम्प्रदायिक द्वन्द्व भड्काएर स्वार्थ पूरा गर्न खोज्ने तत्वहरू सक्रिय रहेको भन्दै सरकारलाई सतर्क रहन आग्रह गरे। प्रधानमन्त्रीसँगको छलफल सौहार्दपूर्ण वातावरणमा भएको र शान्ति तथा सामाजिक सद्भाव कायम गर्न दुवै पक्ष सकारात्मक रहेको उनले बताए।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖