• Monday 5th of October 2026

गुन्डुमा एमाले बैठकका क्रममा जगन्नाथ थपलिया अचेत, मुख्यमन्त्री विवादले बढायो तनाव


  • धनकुटा खबर
  • .

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया सोमबार राति अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरस्थित गुन्डु निवासमा आयोजित छलफलका क्रममा अचेत भएका छन्। बैठकमा उनलाई संसदीय दलको नेतृत्व छाड्न तीव्र दबाब परेपछि भावुक हुँदै बोल्दाबोल्दै उनी ढलेको स्रोतले जनाएको छ।

स्रोतका अनुसार साँझदेखि सुरु भएको छलफल मध्यरातसम्म लम्बिएको थियो। बैठकमा अध्यक्ष ओली, बागमती प्रदेश इन्चार्ज महेश बस्नेत तथा प्रदेशका सांसदहरूले थपलियाले अब नेतृत्व सम्हाल्न नसक्ने भन्दै नयाँ नेतृत्वका लागि मार्ग प्रशस्त गर्न आग्रह गरेका थिए।

बैठकमा उपस्थित एक नेताका अनुसार, लामो समयदेखि पार्टीमा योगदान दिएका आफूलाई अहिले अयोग्य ठहर गरिएको भन्दै थपलिया भावुक बनेका थिए। सोही क्रममा बोलिरहेका बेला उनी अचानक अचेत भएपछि सांसदहरू केशव पोखरेल, दावा दोर्जे लगायतले उनलाई तत्काल मध्यपुर ठिमी अस्पताल पुर्‍याएका थिए।

स्रोतका अनुसार थपलियालाई अस्पताल लगिएपछि पनि गुन्डुमा सरकार गठनसम्बन्धी छलफल जारी रहेको थियो। बैठकमा अध्यक्ष ओलीले थपलियाले प्रभावकारी रूपमा मुख्यमन्त्रीको जिम्मेवारी सम्हाल्न नसक्ने निष्कर्ष दोहोर्‍याउँदै राप्रपाको समर्थन जुटाउन सक्ने व्यक्तिलाई नै नेतृत्व दिने धारणा राखेका थिए।

बैठकमा १७ जना प्रदेश सांसद सहभागी थिए। तीमध्ये १४ जनाले यसअघि नै किरण थापामगरलाई मुख्यमन्त्री बनाउनुपर्ने पक्षमा हस्ताक्षर गरिसकेको बताइएको छ। यद्यपि केही दिनअघि मात्रै अध्यक्ष ओलीले थपलियालाई मुख्यमन्त्री बनाउने संकेत दिएको चर्चा भएपछि उनी नेतृत्वको दौडमा आफू बलियो रहेको विश्वासमा थिए।

थपलिया निकट स्रोतका अनुसार प्रदेश इन्चार्जमार्फत आकस्मिक रूपमा गुन्डुमा बोलाइएपछि मात्रै त्यहाँ सरकार गठनबारे निर्णायक छलफल हुने जानकारी पाएका थिए। बैठकमा अधिकांश सांसदहरूले राप्रपाको समर्थन जुटाउन थपलियाले प्रभावकारी भूमिका निर्वाह गर्न नसक्ने तर्क राख्दै उनको नेतृत्वमाथि प्रश्न उठाएका थिए।

छलफलका क्रममा महेश बस्नेतले अध्यक्षको निर्देशनअनुसार निर्णय हुने बताएका थिए। त्यसपछि थपलियाले आफू पनि पार्टीकै अनुशासित कार्यकर्ता भएको उल्लेख गर्दै आफ्नो धारणा राखेका थिए। हस्ताक्षरको विषय उठेपछि बस्नेतसहित भारती पाठक, दिनेशचन्द्र देवकोटालगायत नेताहरूले सांसदहरूको धारणा नै पर्याप्त रहेको बताएका थिए।

लगातार आफ्नै विरुद्ध धारणा व्यक्त हुन थालेपछि थपलिया भावुक बनेका थिए। सोही क्रममा बोल्दाबोल्दै उनी अचेत भएर ढलेको बैठकमा सहभागी स्रोतहरूले बताएका छन्।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖