• Monday 5th of October 2026

‘बालेन टीम’ ले सांसद राजु पाण्डेलाई गरायो सचेत


  • धनकुटा खबर
  • .

काठमाडौँ । काठमाडौँको गोकर्णस्थित बागमती करिडोर विस्तारका क्रममा नेपाली सेना र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजुनाथ पाण्डेबिच भएको भनाभनको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि सांसद पाण्डेले सार्वजनिक रूपमा स्पष्टीकरण दिएका छन्।

गोकर्णेश्वर क्षेत्रमा पर्ने नेपाल ट्रस्टको जग्गामा रहेको नेपाली सेनाको विपद् व्यवस्थापन तालिम केन्द्रको पर्खाल भत्काउने विषयलाई लिएर सडक विस्तारका क्रममा सांसद पाण्डे र सुरक्षामा खटिएका सैनिक अधिकारीबीच विवाद भएको थियो।

माकलबारीदेखि गोकर्णेश्वर मन्दिरतर्फ जाने सडक विस्तारका लागि सांसद पाण्डेसहित स्थानीय जनप्रतिनिधि डोजरसहित स्थलमा पुगेका थिए। त्यसक्रममा सैनिक अधिकारीले आधिकारिक पत्र आवश्यक रहेको र ब्यारेकको सुरक्षा संवेदनशीलताको विषय उठाएका थिए। जवाफमा सांसद पाण्डेले भौतिक पूर्वाधारमन्त्री नेपाल ट्रस्टको अध्यक्ष रहने तथा सडक विस्तारको काम नरोकिने भन्दै पर्खाल भत्काउने अडान लिएका थिए।

यस घटनापछि प्रधानमन्त्री तथा रक्षा मन्त्रालयको जिम्मेवारीसमेत सम्हालिरहेका प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह र प्रधानसेनापति अशोक सिग्देलबीच सिंहदरबारमा भेटवार्ता भएको बताइएको छ। भेटका क्रममा सांसद पाण्डेको व्यवहारबारे पनि छलफल भएको स्रोतले जनाएको छ।

प्रधानमन्त्री सचिवालयका एक सदस्यका अनुसार, त्यसपछि सांसद पाण्डेलाई प्रधानमन्त्री कार्यालय बोलाएर सुरक्षा निकायसँग संवाद गर्दा संयमित र जिम्मेवार शैली अपनाउन सुझाव दिइएको थियो। साथै, प्रधानमन्त्रीको नाम अनावश्यक रूपमा जोडेर अभिव्यक्ति नदिन पनि सचेत गराइएको बताइएको छ।

सांसद पाण्डेले आफू प्रधानमन्त्री कार्यालय गएको स्वीकार गर्दै कामका सिलसिलामा अघिदेखि नै जाने गरेको र आवश्यक परे भविष्यमा पनि जाने बताएका छन्।

चौतर्फी आलोचना र प्रधानमन्त्री कार्यालयको ध्यानाकर्षणपछि सांसद पाण्डेले विज्ञप्ति जारी गर्दै नेपाली सेनाप्रति आफ्नो उच्च सम्मान रहेको उल्लेख गरेका छन्। उनले भाइरल भएको भिडियो समन्वयका क्रममा केही मिनेट भएको सामान्य भनाभन मात्र रहेको दाबी गरेका छन्।

उनले प्रारम्भिक विवादपछि नेपाली सेनासँग पूर्ण समन्वय र सहकार्य गर्दै बागमती करिडोर विस्तारको काम सफलतापूर्वक सम्पन्न गरिएको पनि स्पष्ट पारे।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖