• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

दुबईमा २० मिनेटभित्र ७ पटक श्रृङ्खलाबद्ध विस्फोट, बाक्लो धुवाँको मुस्लोले छायो आकाश


  • धनकुटा खबर
  • .

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) को दुबईस्थित जेबेल अली औद्योगिक क्षेत्रमा भीषण विस्फोट भएको छ। घटनापछि रातको आकाशमा बाक्लो धुवाँ फैलिएको दृश्य सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूमा देखिएको छ।

इमिराती अधिकारीहरूलाई उद्धृत गर्दै इरानको मेहर समाचार संस्थाले जनाएअनुसार करिब २० मिनेटको अन्तरमा कम्तीमा सातवटा विस्फोटका आवाज सुनिएका थिए। घटनाको भिडियो खिचेको आरोपमा दुई जनालाई पक्राउ गरिएको पनि रिपोर्टमा उल्लेख छ।

विस्फोट कुनै सैन्य आक्रमणका कारण भएको हो वा औद्योगिक दुर्घटनाका कारण भएको हो भन्नेबारे हालसम्म आधिकारिक पुष्टि भएको छैन। अमेरिका–इरानबीच जारी तनावका बीच यमनबाट युएईतर्फ मिसाइल आक्रमण गरिएको इराकी सञ्चारमाध्यमहरूले दाबी गरेका छन्। यद्यपि, इमिराती अधिकारीहरूले विस्फोटको कारणबारे कुनै आधिकारिक विवरण सार्वजनिक गरेका छैनन्।

मेहर समाचार संस्थाले उद्धृत गरेको नासाको थर्मल इमेजरी प्रतिवेदनअनुसार बन्दरगाहसँग जोडिएको इन्धन भण्डारण तथा स्थानान्तरणका लागि प्रयोग हुने गोदाममा आगलागी भएको देखिएको छ। घटनाबाट भएको मानवीय वा भौतिक क्षतिको विवरण भने तत्काल सार्वजनिक गरिएको छैन।

सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूमा विस्फोटपछि आवासीय क्षेत्र नजिकैको आकाशमा कालो धुवाँको मुस्लो उडिरहेको देखिन्छ। नजिकैको अल फुरजान क्षेत्रका बासिन्दाहरूले पनि ठूलो विस्फोटको आवाज सुनेको बताएका छन्।

दुबई सहरको केन्द्रबाट करिब २५ माइल दक्षिण–पश्चिममा रहेको जेबेल अली युएईको प्रमुख औद्योगिक तथा व्यापारिक केन्द्र हो। यहाँ विश्वकै ठूलो मानवनिर्मित बन्दरगाहमध्ये एक, स्वतन्त्र व्यापार क्षेत्र (फ्री ट्रेड जोन) तथा पाम जेबेल अली परियोजना अवस्थित छन्।

अमेरिका–इरानबीचको बढ्दो तनावका कारण युएई उच्च सतर्कतामा रहँदै आएको छ। यद्यपि, यस घटनाको वास्तविक कारणबारे आधिकारिक पुष्टि नभएसम्म सैन्य आक्रमण वा अन्य कुनै कारणबारे निष्कर्ष निकाल्न नमिल्ने अवस्था रहेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖