• Thursday 15th of October 2026
  • ट्रेण्डिङ :

तेलको मूल्य बढ्यो


  • धनकुटा खबर
  • .

तेहरान। इरान र अमेरिकाबीच चुलिँदो तनाव र विश्वकै महत्त्वपूर्ण समुद्री व्यापारिक मार्ग ‘होर्मुज जलघाँटी’ पुनः खुला गर्ने विषयमा अनिश्चितता कायम रहँदा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य पुनः बढेको छ।

रोयटर्सका अनुसार सोमबार बिहान ब्रेन्ट कच्चा तेलको मूल्य ९१ सेन्ट (१.०९ प्रतिशत) ले वृद्धि भई प्रतिब्यारेल ८४.४६ अमेरिकी डलर पुगेको छ। त्यसैगरी, अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएट (डब्ल्यूटीआई) कच्चा तेलको मूल्य पनि ६१ सेन्ट (०.७८ प्रतिशत) ले बढेर प्रतिब्यारेल ७८.७९ डलर कायम भएको छ।

यसअघि गत साता दुवै प्रमुख तेलको मूल्य ७ प्रतिशतभन्दा बढीले घटेको थियो। इरान र ओमानबीच कूटनीतिक सम्झौता भई होर्मुज जलघाँटीबाट सहज रूपमा जहाज आवतजावत पुनः सुरु हुने अपेक्षाका कारण तेलको मूल्यमा गिरावट आएको थियो।

तनाव उत्पन्न हुनुअघि विश्वको कुल तेल आपूर्तिको करिब पाँचौँ हिस्सा यही होर्मुज जलमार्गमार्फत हुने गरेको थियो। यो रणनीतिक जलघाँटी पूर्ण रूपमा सञ्चालनमा आउन नसक्दा विश्वव्यापी इन्धन आपूर्ति प्रभावित हुने र महँगी बढ्ने चिन्ता कायमै छ।

तेहरानले ओमानसँग नयाँ जलमार्ग निर्धारण गर्ने विषय अन्तिम चरणमा पुगेको जनाए पनि पूर्ण रूपमा जलघाँटी खुला गर्न अमेरिकाले आफ्ना केही सर्तहरू पूरा गर्नुपर्ने अडान राखेको छ। इरानी संसद्‌मा अमेरिका र इजरायली जहाजहरूलाई प्रवेशमा रोक लगाउने वा सामानको आधारमा ५ देखि ७ प्रतिशतसम्म कर/शुल्क असुल्ने जस्ता सर्तहरूसहितको विधेयकमा छलफल भइरहेको छ।

यता अमेरिकाले भने अन्तर्राष्ट्रिय जलक्षेत्रमा निर्बाध आवतजावतको माग गर्दै यस्ता सर्तहरू अस्वीकार गर्दै आएको छ। दुवै पक्षबीच कुरा नमिल्दा तेल बजारमा जोखिम र अनिश्चितता थप बढेको विश्लेषकहरूको भनाइ छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖