काठमाडौ । काठमाडौं उपत्यकामा पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ कडाइका साथ कार्यान्वयन गर्ने तयारी गरिएको छ। कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीका अनुसार आगामी मंसिर १ गतेदेखि काठमाडौं, भक्तपुर र ललितपुरमा ऐन लागू गर्ने तयारी छ।
ऐनअनुसार पशु वध गर्नुअघि स्वास्थ्य परीक्षण र वधपछि मासुको निरीक्षण गर्नुपर्नेछ। परीक्षणका क्रममा रोग वा खराबी भेटिएमा त्यस्तो मासुको बिक्री–वितरण रोक्न सकिने व्यवस्था छ।
मासु निरीक्षकले जाँच गरी बिक्रीका लागि योग्य ठहर गरेको मासुमा तोकिएको छाप वा चिह्न लगाउनुपर्नेछ। छाप वा चिह्न नभएको मासु बिक्री गर्न कानुनी रूपमा रोक लगाइनेछ।
उपत्यकामा ऐन कार्यान्वयनका लागि वधस्थल निर्धारण, मासु सुपरिवेक्षक नियुक्ति तथा मासु बिक्रीको इजाजतसम्बन्धी प्रक्रिया अघि बढाइएको छ। सरकारका अनुसार यसको उद्देश्य उपभोक्तालाई स्वस्थ र सुरक्षित मासु उपलब्ध गराउनु हो।
उपत्यकापछि माघ १ गतेदेखि अन्य नगरपालिका र २०८४ साउन १ गतेदेखि देशभर ऐन कार्यान्वयन गर्ने तयारी गरिएको छ।
