गोरखा । गोरखाको चुमनुब्री गाउँपालिका हुँदै बग्ने बूढीगण्डकी नदीमा आएको बाढीले गोरखा र धादिङ जोड्ने आरूघाटको पुल बगाएको छ।
आज बिहान आएको बाढीले आरूघाटका केही घरमा समेत क्षति पुर्याएको छ। यसअघि बाढीले पैयू र बगर गाउँका ३५ घर बगाएको तथा दोभान, घट्टेखोला, जगत् र सल्लेरी गाउँमा व्यापक क्षति पुर्याएको विवरण सार्वजनिक भएको थियो।
बाढीका कारण गोरखाको भीमसेन थापा गाउँपालिका–२, ३ र ४, आरूघाट गाउँपालिका तथा धार्चे गाउँपालिकाका विभिन्न क्षेत्रमा विद्युत् सेवा अवरुद्ध भएको छ।
त्यसैगरी धादिङको गङ्गाजमुना र त्रिपुरासुन्दरी गाउँपालिकाका केही क्षेत्रमा समेत विद्युत् आपूर्ति बन्द भएको जनाइएको छ।
