वीरगन्ज । नेकपा एमाले मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । एमाले मधेस प्रदेश संसदीय दलका नेता सरोज यादवले शुक्रबार मधेस प्रदेश प्रमुखलाई पत्र लेख्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएका हुन् ।
सरकार गठनका क्रममा सत्तारूढ दलहरूबीच भएको १५ बुँदे सहमति कार्यान्वयन नभएको भन्दै एमालेले समर्थन फिर्ता लिएको मुख्यमन्त्री यादवलाई लेखिएको पत्रमा उल्लेख छ ।
एमालेले समर्थन फिर्ता लिएसँगै मधेस प्रदेश सरकारमा सहभागी पार्टीका चार जना मन्त्रीले पनि शुक्रबार नै राजीनामा दिएका छन् ।
राजीनामा दिनेमा भौतिक पूर्वाधार विकासमन्त्री महम्मद समिर, खेलकुदमन्त्री लखनदास तत्मा, श्रममन्त्री शारदा थापा र शिक्षामन्त्री मनोजकुमार सिंह रहेका छन् । उनीहरूले मुख्यमन्त्री यादवसमक्ष राजीनामा बुझाएका हुन् ।
एमाले सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री यादव नेतृत्वको सरकारको राजनीतिक समीकरण प्रभावित हुने देखिएको छ । समर्थन फिर्ता र चार मन्त्रीको राजीनामासँगै मधेस प्रदेश सरकारको आगामी राजनीतिक अवस्था थप चासोको विषय बनेको छ ।
