मुम्बइ, १ कात्तिक । भारतको मध्य प्रदेशस्थित ग्वालियरमा नवरात्रिका अवसरमा शीतला माता मन्दिरको दर्शन गर्न जाँदै गरेका श्रद्धालुहरूमाथि धान बोकेको अनियन्त्रित ट्रक पल्टिँदा १३ जनाको मृत्यु भएको छ। दुर्घटनामा ड्युटीमा खटिएका दुई प्रहरीकर्मीसमेत ३९ जना घाइते भएका छन्।
ग्वालियरका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) धर्मवीर सिंहका अनुसार शनिबार राति करिब १:३० बजे छिनोरतर्फबाट मन्दिर जाने सडकमा उक्त दुर्घटना भएको हो। ढलानयुक्त सो सडकमा भारी सवारीसाधनको आवागमन प्रतिबन्धित भए पनि धान बोकेको ट्रक प्रहरीको अवरोध तोड्दै अनियन्त्रित भई तल खसेको थियो।
ट्रकले मन्दिरको बाहिरी पर्खाल र प्रवेशद्वारमा ठक्कर दिँदै सडकमा रहेका श्रद्धालुहरूलाई किचेको प्रहरीले जनाएको छ। दुर्घटनालगत्तै घाइतेहरूलाई तत्काल अस्पताल पुर्याइएकोमा अस्पतालमा १३ जनालाई मृत घोषणा गरिएको एसएसपी सिंहले जानकारी दिए।
घाइतेमध्ये ५ देखि ६ जनाको अवस्था गम्भीर रहेको र उनीहरूलाई हाडजोर्नीसम्बन्धी गम्भीर चोट लागेको बताइएको छ। अन्य घाइतेहरूको पनि स्थानीय अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनामा घाइते भएका दुई प्रहरीकर्मीको समेत अहिले उपचार जारी छ।
ट्रक अनियन्त्रित हुनुको कारणबारे अनुसन्धान सुरु
ग्वालियरकी जिल्ला अधिकारी रुचिका चौहानका अनुसार दुर्घटनाको सूचना प्राप्त हुनासाथ एम्बुलेन्ससहित उद्धार साधनहरू घटनास्थलमा परिचालन गरिएको थियो। घाइतेहरूको स्वास्थ्य परीक्षणका लागि सीटी स्क्यान र एक्स-रेसहितका जाँचहरू भइरहेका छन्।
नवरात्रिका बेला मन्दिर जाने सडकमा प्रहरीको चेकपोस्ट र सुरक्षा अवरोध हुँदाहुँदै पनि ट्रकले ती अवरोध तोडेर प्रतिबन्धित क्षेत्रमा कसरी प्रवेश गर्यो भन्ने विषयमा प्रशासनले गम्भीर अनुसन्धान थालेको छ।
ट्रकको प्राविधिक अवस्था परीक्षण गर्न क्षेत्रीय यातायात कार्यालय (आरटीओ) को टोली परिचालन गरिएको जिल्ला अधिकारी चौहानले बताइन्। ट्रकमा प्राविधिक खराबी आएको थियो वा चालकले नियन्त्रण गुमाएका कारण दुर्घटना भएको हो भन्ने विषयमा प्राविधिक परीक्षणबाट खुल्नेछ।
प्रहरी र प्रशासनले दुर्घटनाको यकिन कारण तथा मन्दिर क्षेत्रमा अपनाइएको सुरक्षा व्यवस्थाबारे थप अनुसन्धान गरिरहेका छन्।
