काठमाडौँ। विवादास्पद अभिव्यक्तिहरूका कारण सधैँ जसो चर्चामा रहने भारतीय अभिनेत्री तथा मोडल राखी सावन्त कानुनी समस्यामा परेकी छन् । भारतको उत्तर प्रदेशस्थित झाँसी अदालतले उनी विरुद्ध गैर–जमानती पक्राउ पुर्जी जारी गरेको छ।
करिब १६ वर्ष पुरानो एक टेलिभिजन कार्यक्रमसँग जोडिएको व्यक्तिको आत्महत्या सम्बन्धी मुद्दामा अदालतले पटक–पटक समन पठाउँदा पनि उपस्थित नभएपछि उनी विरुद्ध यो कडा कदम लिएको हो ।
सन् २०१० मा प्रसारित टेलिभिजन रियालिटी शो ‘राखी का इन्साफ’ मा झाँसी निवासी लक्ष्मणप्रसाद अहिरवार सहभागी भएका थिए । उक्त कार्यक्रममा राखीले लक्ष्मणलाई ‘नामर्द’ भन्दै सार्वजनिक रूपमा अपमानजनक शब्द प्रयोग गरेको आरोप छ । सो अपमानका कारण गहिरो मानसिक तनाव (ट्रमा) मा परेका लक्ष्मणको केही समयपछि मृत्यु भएको थियो ।
घटनापछि लक्ष्मणकी आमाले राखी सावन्तविरुद्ध प्रहरीमा उजुरी दिँदै मुद्दा दायर गरेकी थिइन् । सोही मुद्दाको सुनुवाइका क्रममा अदालतमा उपस्थित हुन पटक–पटक आदेश दिइए पनि राखी अदालतमा हाजिर नभएपछि झाँसी अदालतले उनीविरुद्ध गैर–जमानती वारेन्ट जारी गरेको हो ।
के थियो विवाद ?
स्थानीय रूपमा तरकारी बेचेर गुजारा चलाउने लक्ष्मणको विवाह फेब्रुअरी २०१०मा अनितासँग भएको थियो । तर, विवाह भएको करिब सात महिनापछि नै पारिवारिक विवाद सुरु भयो र अनिता माइती गएर बस्न थालिन् । अनिताले लक्ष्मणको एक नातेदारको नियत खराब भएको र त्यसबारे लक्ष्मणलाई सुनाउँदा बेवास्ता गरेको तथा मदिरा सेवन गरी कुटपिट गर्ने गरेको आरोप लगाएकी थिइन् ।
पति–पत्नीबिचको यही विवाद सुल्झाउनका लागि उनीहरू सन् २०१० मा ‘राखी का इन्साफ’ कार्यक्रममा पुगेका थिए । तर, कार्यक्रममा समस्या समाधान हुनुको साटो लक्ष्मणलाई सार्वजनिक रूपमा निकै अपमानित महसुस गराइएको थियो।
लक्ष्मणकी आमा सावित्रीले प्रहरीलाई दिएको बयानअनुसार, शोमा राखीले छोरालाई ‘नामर्द’ भन्दै निकै बेइज्जत गरेकी थिइन् । कार्यक्रमपछि लक्ष्मण चरम मानसिक तनावमा परेका थिए । उनी घरबाट बाहिर निस्कन, समाज र साथीभाइसँग भेट्न लजाउँथे र रातभर निदाउन सक्दैनथे ।
लक्ष्मणले बारम्बार ‘राखीले मेरो जिन्दगी बर्बाद पारिदिइन्’ भन्दै पीडा व्यक्त गर्ने गर्थे। पछि उनको स्वास्थ्य गम्भीर रूपमा बिग्रिएपछि अस्पताल भर्ना गरिए पनि उनको ज्यान बचाउन सकिएन ।
राखी सावन्त पछिल्लो समय सामाजिक सञ्जाल र मिडियामा विभिन्न अभिव्यक्तिहरूका कारण पनि चर्चामा रहँदै आएकी छन् । हालै नमाज पढ्ने विषयमा विवादमा परेकी उनी बलिउड अभिनेता गोविन्दा कोमल नाम गरेकी महिलासँग देखिएको विषयमा पनि टिप्पणी गर्दै विवादमा परेकी थिइन् ।
