मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका–१ बाद्रेभीरस्थित हेटौँडा–भैँसे सडकखण्डमा ईभी भ्यान दुर्घटना हुँदा ११ जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
आइतबार दिउँसो काठमाडौँबाट रौतहटको गौरतर्फ जाँदै गरेको बा.प्र.०३–००१ ज ०६७४ नम्बरको भाडाको ईभी भ्यान सडकको दाहिनेतर्फको भित्तामा ठोक्किएर बायाँतर्फको नालामा खसेको थियो।
दुर्घटनामा रौतहटको दुर्गा भगवती गाउँपालिका–१ का ३२ वर्षीय राजेश साह, भारतको बिहारस्थित मोतिहारी जिल्लाका ३४ वर्षीय सर्फे आलम, दुर्गा भगवती गाउँपालिका–१ पिपराटोलका ५० वर्षीय हरि साह, उनकी २६ वर्षीया छोरी चन्दा कुमारी साह र २३ वर्षीया छोरी शिवा कुमारी साह घाइते भएका छन्।
त्यसैगरी, हरि साहका पाँच वर्षीय नाति आर्यन साह, रौतहटको चन्द्रपुर नगरपालिका–११ पडरियाटोलकी २४ वर्षीया सबिता कुमारी चौधरी, यमुनामाई गाउँपालिका–४ यादवटोलका १९ वर्षीय राहुल ठाकुर र धमनीमाई नगरपालिका–४ का १६ वर्षीय विजय कुमार ठाकुर पनि घाइते भएका छन्।
प्रहरीका अनुसार राजेश साहको बायाँ खुट्टा, सर्फे आलमको नाक र बायाँ काँध, हरि साहको मुख, सबिता कुमारी चौधरीको बायाँ कोखा, राहुल ठाकुरको मुख तथा विजय कुमार ठाकुरको टाउको र दाहिने खुट्टामा चोट लागेको छ। चन्दा कुमारी साह, शिवा कुमारी साह र आर्यन साहको शरीरमा भित्री चोट लागेको विवरणमा उल्लेख छ।
घाइतेहरूलाई प्रारम्भिक उपचारका लागि हेटौँडा अस्पताल लगिएको थियो। हरि साहको अवस्था गम्भीर भएपछि थप उपचारका लागि चितवनस्थित सीएमसी अस्पताल रिफर गरिएको प्रहरीले जनाएको छ। परिवारका अन्य सदस्य पनि उनको थप उपचारका लागि चितवन गएका छन्।
दुर्घटनापछि ईभी भ्यान घटनास्थलमै रहेको र चालक फरार रहेको प्रहरीले जनाएको छ। फरार चालकको खोजी भइरहेको छ भने गाडीधनी शिवकान्त झासँग सम्पर्क भएको प्रहरीले जानकारी दिएको छ।
दुर्घटनाका कारण सडक अवरुद्ध नभएको प्रहरीले जनाएको छ।
