• Sunday 29th of November 2026

त्रिभुवन विमानस्थलबाट २२ करोडको सेतो हेरोइन बरामद, भारतीय नागरिक पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब २२ करोड रुपैयाँ मूल्य बराबरको सेतो हेरोइन बरामद गरेको छ। थाइल्यान्डबाट काठमाडौं ल्याइएको साढे ५ किलो सेतो हेरोइनसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।

लागुऔषध नियन्त्रण ब्युरोका एसएसपी सुवास बोहराका अनुसार पक्राउ पर्नेमा भारतको महाराष्ट्र निवासी ५२ वर्षीय रेवराज टिघारे रहेका छन्।

प्रहरीले शनिबार बिहान शङ्कास्पद लागेपछि विमानस्थलमा जाँच गर्ने क्रममा उनको लगेजभित्र खरायो र बिरालोको खानाका प्याकेटमा लुकाएर ल्याइएको अवस्थामा सेतो हेरोइन फेला पारेको थियो।

ब्युरोका अनुसार बरामद हेरोइनको अवैध बजार मूल्य करिब २२ करोड रुपैयाँ अनुमान गरिएको छ। अनुसन्धान अधिकृतहरूका अनुसार यसको अवैध कारोबार प्रतिग्राम करिब ४० हजार रुपैयाँका दरले हुने गरेको छ।

अनुसन्धानका क्रममा पक्राउ परेका टिघारे यसअघि पनि दुई पटक लाओसबाट काठमाडौं हुँदै भारत गएको ट्राभल हिस्ट्री भेटिएको छ। उनले जिम्बाब्वे, सुडान, बंगलादेश र कम्बोडियासमेत भ्रमण गरेको देखिएको प्रहरीले जनाएको छ।

एसएसपी बोहराका अनुसार उनी अन्तर्राष्ट्रिय लागुऔषध कारोबारको सञ्जालमा संलग्न मुख्य व्यक्तिमध्ये एक रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। उनको साथबाट मेकानिकल इन्जिनियरको प्रमाणपत्रसमेत बरामद भएको छ।

आरोपीमाथि लागुऔषध नियन्त्रण ऐन, २०३३ अनुसार अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। कानुनी व्यवस्थाअनुसार सेतो हेरोइनको कारोबारमा संलग्नलाई १५ वर्षदेखि जन्मकैदसम्मको सजाय र ५ लाखदेखि २५ लाख रुपैयाँसम्म जरिवाना हुन सक्ने व्यवस्था छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖