काठमाडौँ । काठमाडौँ उपत्यकाको वायु प्रदूषण थप बढेको छ । विश्वका प्रमुख प्रदूषित सहरको सूचीमा काठमाडौँ पाँचौँ स्थानमा उक्लिएको छ ।
वायु गुणस्तरसम्बन्धी अन्तर्राष्ट्रिय संस्था आईक्यूएयरले बुधबार बिहान ६ देखि ७ बजेसम्म सार्वजनिक गरेको तथ्यांकअनुसार काठमाडौँको वायु गुणस्तर सूचकांक (एक्यूआई) १७२ पुगेको छ ।
यसअघि बिहान ५ देखि ६ बजेसम्म काठमाडौँ १५८ एक्यूआईसहित विश्वका प्रदूषित सहरको सूचीमा ११औँ स्थानमा थियो । एक घण्टामै एक्यूआई १४ अंकले बढेको हो । एक्यूआई १५१ देखि २०० सम्मको अवस्थालाई अस्वस्थकर मानिन्छ ।
आईक्यूएयरको सूचीअनुसार पाकिस्तानको लाहोर २८४ एक्यूआईसहित पहिलो स्थानमा छ । त्यस्तै, बंगलादेशको ढाका २०८ सहित दोस्रो, भारतको कोलकाता १९९ सहित तेस्रो र दिल्ली १८३ सहित चौथो स्थानमा छन् ।
सूचीको छैटौँ स्थानमा उज्बेकिस्तानको तास्कन्द, सातौँमा इन्डोनेसियाको जकार्ता र आठौँमा भारतको मुम्बई रहेका छन् ।
काठमाडौँमा वायु प्रदूषण बढ्दै जाँदा बालबालिका, ज्येष्ठ नागरिक तथा श्वासप्रश्वाससम्बन्धी समस्या भएका व्यक्तिमा स्वास्थ्य जोखिम बढ्न सक्ने भएकाले सावधानी अपनाउन आवश्यक छ ।
