सञ्जय मिश्रा/रौतहट, १० मंसिर । कटहरिया नगरपालिकामा खानेपानीको विद्युत् लाइन काटिएको विषयले विवाद चर्किएको छ।
विद्युत् लाइन काट्ने क्रममा मदिरा सेवन गरिएको आरोप लगाएपछि नेपाल विद्युत् प्राधिकरण मौलापुर वितरण केन्द्रका प्रमुख इन्जिनियर उमेश दासले कटहरियाका मेयर अजय प्रकाश जैसवालको अभिव्यक्तिलाई लज्जास्पद र खेदजनक भन्दै कडा प्रतिक्रिया दिएका छन्।
न्यूज कारखानासँग कुरा गर्दै प्रमुख दासले खानेपानीको विद्युत् महसुल तिर्न नसक्ने तर लाइन काटिएको विषयमा प्राधिकरणमाथि अनावश्यक आरोप लगाउनु गैरजिम्मेवारपूर्ण भएको बताए।
उनका अनुसार दशैंअघि नै खानेपानी उपभोक्ता समितिको विद्युत् लाइन काटिएको थियो। तर रौतहटका प्रमुख जिल्ला अधिकारीको सल्लाहमा चाडपर्वलाई ध्यानमा राख्दै खानेपानी सञ्चालनका लागि अस्थायी रूपमा लाइन जोडिएको थियो।
त्यसक्रममा मेयर जैसवालले दशैं बिदा सकिएपछि कार्यालय खुल्नासाथ विद्युत् महसुल भुक्तानी गर्ने प्रतिबद्धता जनाएको दासको भनाइ छ। तर छठ पर्व बितिसक्दा पनि बक्यौता रकम भुक्तानी नभएपछि मंसिर १ गते मंगलबार पुनः विद्युत् लाइन काट्न बाध्य भएको उनले बताए।
‘पटक–पटक ताकेता गर्दा पनि महसुल भुक्तानी भएन। चाडपर्वलाई ध्यानमा राखेर लाइन जोडिएको थियो, तर प्रतिबद्धताअनुसार रकम नआएपछि काट्नुपरेको हो,’ प्रमुख दासले भने।
उनले अहिले खानेपानीको समस्या उत्पन्न हुनुमा प्राधिकरणको नभई समयमै महसुल भुक्तानी नगर्ने पक्षको जिम्मेवारी रहेको दाबी गरे। आफ्नो कमजोरी लुकाउन प्राधिकरणमाथि मदिरा सेवन गरेर लाइन काटेको आरोप लगाउनु खेदजनक भएको उनको भनाइ छ।
२४ लाख क्रिकेटमा खर्च गर्ने, खानेपानीको महसुल तिर्न नसक्ने ?
कटहरिया नगरपालिकाका मेयर जैसवालले क्रिकेट प्रतियोगितामा २४ लाख रुपैयाँ खर्च गर्ने तर खानेपानीको विद्युत् महसुल तिर्न १० लाख रुपैयाँसमेत व्यवस्था गर्न नसकेको विषय सामाजिक सञ्जालमा चर्चामा छ।
यसै विषयमा आलोचना बढेपछि मेयर जैसवालले बुधबार फेसबुकमार्फत केही विपक्षीले विद्युत् प्राधिकरणका प्रमुखलाई मदिरा सेवन गराएर खानेपानीको लाइन पटक–पटक काट्न लगाएको आरोप लगाएका थिए।
मेयर जैसवालले व्यक्तिगत दुस्मनी भए आफूलाई नै लक्षित गर्नुपर्ने भन्दै खानेपानीको लाइन काटेर विपक्षीहरूले सामाजिक सञ्जालमा पोस्ट गराई आफ्नो बदनाम गर्न खोजेको दाबी गरेका थिए।
तर प्राधिकरण प्रमुख दासले उक्त आरोप अस्वीकार गर्दै महसुल बक्यौता नै लाइन काट्नुको मुख्य कारण रहेको स्पष्ट पारेका छन्।
१ हजार ६ सय परिवार खानेपानीबाट वञ्चित
मंसिर १ गतेदेखि विद्युत् लाइन काटिएपछि कटहरिया नगरपालिका वडा नम्बर ४ र ५ का करिब १ हजार ६ सय परिवार खानेपानीबाट वञ्चित भएको बताइएको छ।
नेपाल विद्युत् प्राधिकरण मौलापुर वितरण केन्द्रका अनुसार कटहरिया खानेपानी उपभोक्ता समितिको नाममा कुल १० लाख ४२ हजार ५०६ रुपैयाँ विद्युत् महसुल बक्यौता रहेको छ। पटक–पटक भुक्तानीका लागि ताकेता गर्दा पनि रकम नतिरेपछि बाध्य भएर विद्युत् लाइन काटिएको प्राधिकरणको भनाइ छ।
उपभोक्ता समितिका अध्यक्षको पनि मेयरमाथि आक्रोश
खानेपानी उपभोक्ता समितिका अध्यक्ष योगेन्द्र साहले पनि मेयर जैसवालको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन्।
उनले मेयरले पटक–पटक आफ्नो भनाइ परिवर्तन गर्ने र सत्य कुरा नबोल्ने गरेको आरोप लगाउँदै अहिले नगरवासीदेखि नगरपालिकाका कर्मचारी र सफाइ कर्मचारीसम्मले उनको कुरामा विश्वास गर्न छाडेको दाबी गरे।
खानेपानीको हाहाकार भइरहेका बेला समस्या समाधान गर्नुको सट्टा आफ्नो दोष अरूमाथि थोपर्न मेयरले सामाजिक सञ्जालमा जथाभावी अभिव्यक्ति दिइरहेको अध्यक्ष साहको आरोप छ। ‘फेसबुकमा लेख्दैमा वास्तविकता लुक्दैन। खानेपानीको बक्यौता र लाइन काटिएको कारण सबैलाई थाहा छ,’ अध्यक्ष साहको भनाइ छ।
मेयर चौतर्फी असफल भएको वडा अध्यक्षको आरोप
कटहरिया नगरपालिका वडा नम्बर ४ का अध्यक्ष तथा मेयर पदका आकांक्षी चन्दन कुशवाहाले पनि मेयर जैसवालमाथि कडा टिप्पणी गरेका छन्। उनका अनुसार निर्वाचनका बेला ‘एक घर एक रोजगार’ र ‘खानेपानी निःशुल्क’ जस्ता नारा दिएर जैसवाल मेयर निर्वाचित भएका थिए। तर कार्यकालमा जनताको अपेक्षाअनुसार काम गर्न नसकेको र अहिले खानेपानीको समस्या समेत समाधान गर्न नसकेको कुशवाहाको आरोप छ।
उनले मेयर जैसवाल चौतर्फी रूपमा असफल भएको दाबी गर्दै आफ्नो कमजोरी लुकाउन विपक्षीमाथि आरोप लगाएर उम्किन खोजेको बताए। कटहरियामा खानेपानीको विद्युत् लाइन काटिएको विषयले जनजीवन प्रभावित भइरहेका बेला नगरपालिकाले बक्यौता भुक्तानी गरी खानेपानी सेवा पुनः सञ्चालन गर्ने पहल गर्नुपर्ने स्थानीयको अपेक्षा छ।
