• Saturday 28th of November 2026

तेलको मूल्य फेरि बढ्यो


  • धनकुटा खबर
  • .

सिएनएन । पश्चिम एसियामा सैन्य तनाव पुनः चर्किएपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य फेरि बढ्न थालेको छ । इरानसँग सम्बन्धित आक्रमण, साउदी अरबका तेल प्रशोधन केन्द्रमा भएका हमला र स्ट्रेट अफ होर्मुजमा तेल ट्याङ्करमाथि निरन्तर आक्रमणले विश्व बजारमा तेल आपूर्ति प्रभावित हुने चिन्ता बढाएको छ ।

अन्तर्राष्ट्रिय तेलको मानक मानिने ब्रेन्ट क्रुडको जनवरीमा आपूर्ति हुने अग्रिम कारोबार (फ्रन्ट–मन्थ फ्युचर्स) शुक्रबार प्रतिब्यारेल करिब ९६ अमेरिकी डलर पुगेको छ । बिहीबार कारोबार बन्द हुँदा मूल्य मध्यावधि निर्वाचन भएको सातापछिकै उच्च बिन्दुमा पुगेको थियो ।

यो साता ब्रेन्टको मूल्य करिब ३.५ प्रतिशत बढेको छ । यससँगै नोभेम्बर महिनामा पहिलोपटक तेलको मूल्यले साप्ताहिक वृद्धि हासिल गर्ने सङ्केत देखाएको छ । अमेरिकी बजारमा कारोबार हुने वेस्ट टेक्सास इन्टरमिडिएट (डब्ल्यूटीआई) को मूल्य पनि शुक्रबार १ प्रतिशत बढेर प्रतिब्यारेल करिब ८४.५० डलर पुगेको छ ।

यद्यपि तेलको मूल्य यसअघि इरानसँगको युद्धका क्रममा पुगेको करिब १२० डलरको उच्च स्तरभन्दा अझै निकै तल छ । यसै साता मूल्य प्रतिब्यारेल ९० डलरभन्दा तल झरेको थियो । पछिल्ला केही सातादेखि तेलको मूल्य घटिरहेको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पश्चिम एसियामामा थप सैन्य कारबाही गर्न हिचकिचाएको, क्षेत्रबाट तेल आपूर्ति केही बढेको र विश्वव्यापी तेल खपत उल्लेख्य घटेका कारण मूल्यमा गिरावट आएको थियो ।

तर पछिल्ला दिनमा भएका आक्रमणले बजारको दिशा बदल्न थालेका छन् । बिहीबार कुवेतको सैन्य क्षेत्रमा इरानी ड्रोन आक्रमण भएको आशङ्कामा दुई इटालियन नागरिक मारिएका छन् । इटालीका विदेश मन्त्री एन्टोनियो ताजानीका अनुसार उनीहरू जर्मन रक्षा कम्पनी राइनमेटल इटालियमा कार्यरत प्राविधिक थिए ।

आक्रमणमा एक कुवेती र एक पाकिस्तानी नागरिक पनि घाइते भएका छन् । इरानले भने आक्रमणमा आफ्नो संलग्नता अस्वीकार गरेको छ ।

यसैबिच, यमनका हुथी विद्रोहीले यस साता साउदी अरबका दुई तेल प्रशोधन केन्द्रमा लगातार आक्रमण गरेका छन् । बुधबार देशको सबैभन्दा ठुलो तेल प्रशोधन केन्द्र रास तनुरालाई निशाना बनाएको दाबी गरेको हुथी समूहले बिहीबार दक्षिण पश्चिमी जजान क्षेत्रस्थित अर्को प्रशोधन केन्द्रमा पनि आक्रमण गरेको थियो ।

दोस्रो आक्रमणमा एक नेपाली कामदारको मृत्यु भएको छ । आक्रमणपछि आगलागी भएको र प्रशोधन केन्द्रको केही सञ्चालन अस्थायी रूपमा रोकिएको साउदी ऊर्जा मन्त्रालयले जनाएको छ ।

साउदी राजधानी रियादस्थित देशको खर्बौं डलरको सार्वभौम सम्पत्ति कोषको मुख्यालय रहेको गगनचुम्बी भवनमा पनि केही दिनको अन्तरालमा दोस्रो पटक आक्रमण भएको छ । घटनामा ११ जना घाइते भएको साउदी अधिकारी तथा प्रत्यक्षदर्शीले बताएका छन् ।

इरानले स्ट्रेट अफ होर्मुज हुँदै आवतजावत गर्ने तेल ट्याङ्करमाथि पनि आक्रमण जारी राखेको छ । बेलायती समुद्री व्यापार सञ्चालन केन्द्रको तथ्याङ्क विश्लेषणअनुसार नोभेम्बरमा उक्त क्षेत्रमा करिब दुई दर्जन आक्रमण भएका छन् । यो सङ्ख्या अक्टोबरमा रेकर्ड भएको ३० आक्रमणको नजिक पुगेको छ ।

स्ट्रेट अफ होर्मुजबाट हुने तेल आपूर्ति पनि प्रभावित भएको छ । प्रारम्भिक तथ्यांकअनुसार नोभेम्बर २५ सम्मको एक सातामा उक्त मार्गबाट तेल प्रवाह युद्धअघिको तुलनामा ५५ प्रतिशतमा झरेको छ ।यसले आक्रमणका कारण समुद्री आवागमन प्रभावित भएको देखाउँछ ।

अनलाइन ब्रोकर एक्सटीबीकी अनुसन्धान निर्देशक क्याथलिन ब्रुक्सले अमेरिका र इरानबिच स्थायी शान्ति सम्झौता हुन नसक्दा क्षेत्रीय अस्थिरता कायम रहेको बताएकी छन् । उनका अनुसार तेलको मूल्य लगातार बढिरहेमा एआई प्रविधिसम्बन्धी कम्पनीका शेयरमा भइरहेको उत्साहपूर्ण वृद्धि पनि प्रभावित हुन सक्छ ।

यसैबिच, तेल उत्पादक राष्ट्रहरूको संगठन ओपेक र सहयोगी राष्ट्रहरूको समूह ओपेक प्लसको बैठक आइतबार बस्दैछ । समूहले सेप्टेम्बरदेखि तेल उत्पादन स्थिर राख्दै आएको छ ।विश्लेषकहरूका अनुसार बैठकमा जनवरीसम्म उत्पादन कोटा यथावत् राख्ने निर्णय हुन सक्नेछ, यद्यपि केही सदस्य राष्ट्रहरूले उत्पादन बढाउन दबाब दिइरहेका छन् ।

पश्चिम एसियामाको तनाव, तेल आपूर्तिमा अवरोध र ओपेक प्लसको आगामी निर्णयले अब विश्व बजारमा तेलको मूल्य कुन दिशामा जाने भन्ने निर्धारण गर्ने देखिन्छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖