• Saturday 28th of November 2026

अमेरिकी वायुसेनाको मुख्य क्लाउड कम्प्युटिङ प्रणाली ह्याक


  • धनकुटा खबर
  • .

वासिङ्टन डिसी । ह्याकरहरूले अमेरिकी वायुसेनाको प्रमुख क्लाउड कम्प्युटिङ प्लेटफर्म ‘क्लाउड वन’ मा साइबर हमला गरी अनधिकृत पहुँच बनाएका छन्।

यस मामिलाबारे जानकार तीन व्यक्तिले रोयटर्सलाई दिएको जानकारी अनुसार, यस घटनाले वायुसेनाको ठुलो परिमाणको संवेदनशील रणनीतिक, कर्मचारी सम्बन्धी तथा सैन्य बन्दोबस्ती (लजिस्टिक्स) का तथ्याङ्कहरू जोखिममा पर्न सक्ने देखिएको छ।

तीमध्ये दुई स्रोतका अनुसार, प्रणाली अपग्रेड गर्ने क्रममा करिब एक महिनाअघि यो घुसपैठ फेला परेको थियो। यस घटनापछि उक्त प्लेटफर्मका कामहरूमा अवरोध उत्पन्न भएको छ। यद्यपि, ह्याकरहरूको पहिचान, आक्रमणको पूर्ण असर र कुनै डेटा चोरी भयो कि भएन भन्नेबारे रोयटर्सले यकिन गर्न सकेको छैन।

रोयटर्सलाई दिएको एक विज्ञप्तिमा वायुसेनाले भनेको छ, ‘हामी विशिष्ट नेटवर्क र प्रणालीहरूको सुरक्षा अवस्था, कमजोरी वा सञ्चालनको स्थितिका बारेमा टिप्पणी गर्दैनौँ। हामी वायुसेना विभागका सूचना, प्रणाली र मिसन सञ्चालन क्षमताको सुरक्षाका लागि निरन्तर सतर्कतापूर्वक आवश्यक कदम चालिरहेका हुन्छौँ।’

एउटै प्लेटफर्मबाट सबै सेवा
सन् २०१७ मा सुरु गरिएको ‘क्लाउड वन’ अमेरिकी वायुसेनाको सूचना प्रविधि सम्बन्धी सम्पूर्ण आवश्यकताहरू एउटै ठाउँबाट पूरा गर्ने उद्देश्यले बनाइएको थियो। यसले माइक्रोसफ्ट, अमेजन, ओराकल र अल्फाबेट गरी चार ठुला प्रविधि कम्पनीहरूको स्रोतलाई एकै ठाउँमा समेटेर कर्मचारीहरूको विवरण, तलब, बन्दोबस्ती र मर्मतसम्भार व्यवस्थापन गर्ने दर्जनौँ प्रणालीहरू सञ्चालन गर्दछ।

यसमा वायुसेनाको ‘क्लाउड-आधारित कमाण्ड एन्ड कन्ट्रोल’ प्रणाली समेत समावेश छ, जसले उत्तर अमेरिकाभरका हवाई रक्षा राडार र अन्य सूचनाहरू सङ्कलन गर्छ। त्यस्तै, विश्वभरका २०० भन्दा बढी अमेरिकी वायुसेनाका अड्डाहरूमा रहेका बम तथा क्षेप्यास्त्रहरूको निगरानी गर्ने ‘थिएटर इन्टिग्रेटेड कम्ब्याट म्युनिसन्स सिस्टम’ पनि यसै प्लेटफर्ममा आधारित छ।

‘क्लाउड वन’ को मुख्य ठेकेदारका रूपमा पहिले एसएआईसी रहेको थियो भने पछि लिडोस यसको जिम्मेवारी लिएको थियो। एसएआईसीले यसबारे कुनै प्रतिक्रिया दिएन भने लिडोसले यस विषयमा वायुसेनालाई नै प्रश्न सोध्न आग्रह गर्‍यो।

स्रोतहरूका अनुसार क्लाउड वन अमेरिकी सेनाको सबैभन्दा ठुला क्लाउड प्लेटफर्महरूमध्ये एक हो। एक स्रोतले भने, ‘यहाँ भएको साइबर आक्रमण निकै ठुलो विषय हो।’

अर्का एक स्रोतका अनुसार अनुसन्धानकर्ताहरूले क्षतिको मूल्याङ्कन गर्न अमेरिकी सेनाको साइबर सुरक्षा दस्ता ‘साइबर कमाण्ड’ लाई बोलाएका छन्। तर, साइबर कमाण्डले यसबारे कुनै प्रतिक्रिया दिन मानेन।

विभिन्न कामहरू प्रभावित
ह्याक भएको पत्ता लागेपछि प्रणालीमा विभिन्न प्रकारका अवरोधहरू देखिएका छन्। स्रोतहरूका अनुसार प्रशासनिक एप्लिकेसनहरूलाई क्लाउड वनमा सार्ने सेनाको दीर्घकालीन प्राथमिकताको काम हाललाई रोकिएको छ।

त्यसैगरी, क्लाउड वनमा पहिल्यैदेखि चलिरहेका एप्लिकेसनहरूलाई अपडेट गर्ने काम पनि रोकिएको छ। प्रविधि क्षेत्रमा नयाँ खालका गम्भीर सफ्टवेयर कमजोरीहरू सार्वजनिक भइरहेकै बेला वायुसेनाका कर्मचारीहरूले ती कमजोरी समाधान गर्न नसक्ने अवस्था बनेको छ। पाँचौँ स्रोतका अनुसार केही प्रयोगकर्ताहरूको व्यवस्थापकीय अधिकारसमेत खोसिएको छ। सबै स्रोतहरूले आफ्नो नाम गोप्य राख्ने सर्तमा यो जानकारी दिएका हुन्।

एक स्रोतका अनुसार ह्याकरहरूले सफ्टवेयरको कमजोरीको फाइदा उठाएर मुख्य ‘कन्ट्रोल प्लेन’ सम्म पहुँच पुर्‍याएका थिए। उनले ‘कन्ट्रोल प्लेन’ लाई एउटा ‘युनिभर्सल रिमोट’ सँग तुलना गर्दै भने कि सैद्धान्तिक रूपमा ह्याकरहरूले सैन्य विमानहरूको सञ्चालन अवस्था वा स्पेयर पार्ट्सको ढुवानी विवरण हेर्न सक्ने सम्भावना रहन्छ, यद्यपि यस पटक ह्याकरहरूले त्यसो गरे वा गरेनन् भन्ने स्पष्ट भइसकेको छैन।

ह्याकरहरूले सफ्टवेयरको कुन कमजोरीको फाइदा उठाएका हुन् भन्ने कुरा रोयटर्सले पत्ता लगाउन सकेको छैन।

साइबर आक्रमणहरूको शृङ्खला
यो साइबर आक्रमणको खबर यस्तो समयमा आएको छ, जतिबेला आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मार्फत हुने घुसपैठलाई लिएर विश्वभर चिन्ता बढिरहेको छ। एआई मोडलहरूले क्लाउड नेटवर्कका कमजोरीहरू छिट्टै पत्ता लगाउन सक्ने भएकाले यो विशेष गरी क्लाउड प्रणालीका लागि गम्भीर समस्या बनेको छ।

अमेरिकी सरकारले पछिल्लो समय सार्वजनिक भएका कम्तीमा अन्य ६ वटा साइबर आक्रमणका घटनाहरूको सामना गरिरहेको छ। जसमा एफबीआईका दुई वटा प्रणाली, पेन्टागनको डेटा, आन्तरिक सुरक्षा विभागका कर्मचारीको विवरण चुहावट, कम्तीमा दुई वटा गुप्तचर निकाय र अर्थ मन्त्रालयमा भएका साइबर आक्रमणहरू सामेल छन्।

क्लाउड वन लामो समयदेखि ह्याकरहरूको निशानामा रहँदै आएको थियो। सन् २०२३ मा अनलाइन पत्रिका ‘फेडस्कुप’ मा प्रकाशित एक लेखमा क्लाउड वनका नेतृत्वकर्ताहरूले प्रणालीमा घुसपैठ गर्ने अनगिन्ती प्रयासहरूलाई विफल पार्दै आफूहरू ‘शतप्रतिशत सफल’ रहेको दाबी गरेका थिए।

त्यतिबेला क्लाउड वनको नेतृत्वले लेखेको थियो, ‘सुरक्षाको सवालमा कुनै पनि गल्ती स्वीकार्य हुँदैन।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖