• Thursday 8th of October 2026

दसैँमा बिरामी आमालाई भेट्न गएका ‘कञ्चन’ ८ दिनदेखि प्रहरी हिरासतमा


  • धनकुटा खबर
  • .

काठमाडौँ । सवारी ज्यान मुद्दामा ८ दिनदेखि प्रहरी हिरासतमा रहेका नेकपा(क्रान्तिकारी)का प्रवक्ता धर्मेन्द्र बास्तोला ‘कञ्चन’को दसैँ बिदाका कारण हिरासत बसाइ थप लम्बिने भएको छ ।

कात्तिक २ गते राति पौने १० बजेतिर दाङको राप्ती गाउँपालिका–५ सिंङ्गे नजिकै प्रवक्ता बास्तोलाले चलाएको बा ९ च ७१९८ नम्बरको स्कार्पियोले विपरीत दिशातर्फ गइरहेको रा ६ प ५७३८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ठक्करबाट सख्त घाइते भएका मोटरसाइकल चालक २९ वर्षीय सन्तबहादुर चौधरीको उपचारको क्रममा सिसहनियाँ स्वास्थ्य चौकीमा मृत्यु भएको थियो ।

प्रवक्ता बास्तोलालाई घटनास्थल नजिकै इलाका प्रहरी कार्यालय भालुवाङको प्रहरी हिरासतमा राखिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख रामबहादुर केसीका अनुसार १२ गते अदालत खुलेपछि मुद्दा प्रक्रिया अगाडि बढ्नेछ ।

‘दसैँ बिदा भए पनि अनुसन्धान प्रक्रिया जारी छ । मृतकको पोस्टमार्टम रिपोर्ट पनि आइपुगेको छैन’, प्रमुख केसीले भने, ‘अदालत आइतबारमात्र खुल्ने भएकाले त्यसपछि मात्र उहाँमाथि कानुनी प्रक्रिया अगाडि बढ्छ । कसको गल्ती हो भन्ने विषयमा अनुसन्धान प्रक्रिया टुंगिएपछि मात्र भन्न सकिन्छ ।’

मुद्दा मिलाउने प्रयास जारी

प्रहरीको तर्फबाट कानुनी प्रक्रिया अगाडि बढाइ रहे पनि सहमतिमा मुद्दा मिलाउनका लागि पार्टीले सहजीकरण गरिरहेको क्रान्तिकारी पार्टीका एक नेताले बताएका छन् । ती नेताका अनुसार पीडित पक्षको माग बमोजिम क्षतिपूर्ति दिने विषयमा छलफल जारी रहेको छ ।

‘अहिले मृतकका परिवारले शव बुझेर अन्तिम संस्कार गरी क्रियामा बसेका छन् । पार्टीको तर्फबाट पीडित परिवारलाई किरिया खर्च उपलब्ध गराइएको छ’, ती नेताले भने, ‘पीडित पक्षले दाबी गरेको क्षतिपूर्तिको सम्बन्धमा आपसी सहमति गरेर उहाँलाई छुटाउने प्रयास भइरहेको छ । क्रियाको काम सकिएपछि पार्टीले यस विषयमा थप सहजीकरण गर्नेछ ।’ क्षतिपूर्तिको सम्बन्धमा पीडित पक्ष सहमति नजिक पुगेको ती नेताले रातोपाटीसँग बताए ।

दुर्घटनामा परेका आमालाई भेट्न गएका थिए कञ्चन

सुर्खेतको पञ्चपुरी नगरपालिका–९ का बास्तोला दुर्घटनामा परि घाइते भएका आमालाई भेट्न सोही दिन साँझ काठमाडौँबाट निस्किएका थिए । डेढ महिनाअघि ८४ वर्षीय आमाको घरको भर्‍याङबाट लडेर करङ भाँचिएको थियो । पार्टीको कामले व्यस्त रहेका उनी घर जान पाएका थिएनन् । दसैँ बिदामा खासै कामको चाप नहुने भएकाले आमासँग बिताउने उद्देश्यले उनी घर गएका थिए । तर लामो बाटो भएकाले आफै सवारी नचलाउन नेताहरूले सुझाव दिए पनि उनले नमानेको एक केन्द्रीय सदस्यले बताएका छन् ।

‘२ गते साँझ उहाँ आमालाई भेट्न घर जान्छु भन्नुभयो । लामो बाटो भएकाले आफै ड्राइभ नगर्न उहाँलाई सुझाव दिएका थियौँ । यद्यपि बाध्यकारी रूपमा भनिएको होइन । एक जना चालक राखेर जाँदा राम्रो हुन्छ भनेका थियौँ । उहाँले मान्नु भएन’, ती सदस्यले बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖