• Tuesday 6th of October 2026

विकेट बचाउने योजना अनुसार टिकेर खेलेँ : आसिफ शेख


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाली क्रिकेट टिमका ओपनर आसिफ शेखले आफूले टिमको आवश्यकता अनुसार यूएईविरुद्ध विकेट नगुमाई टिकेर खेलेको बताएका छन् ।

टी–२० विश्वकप छनोटको सेमिफाइलानमा यूएईलाई हराउने क्रममा उनले ५१ बलमा ६४ रन बनाएका थिए । त्यसक्रममा उनले ७ चौका र १ छक्का हाने ।

अर्का ओपनर कुशल भुर्तेल नेपालको स्कोर २६ हुँदा र तेस्रो नम्बरमा ब्याटिङमा आएका गुल्सन झा ६७ रन हुँदा आउट भए पनि शेखले एक छेउबाट विकेट सम्हाल्दै संयमति ब्याटिङ गरेकाले नेपालले यूएईले दिएको १३६ रनको लक्ष्य १७ बल अघि नै २ विकेट गुमाएर पूरा गरेको थियो ।

खेलपछि पत्रकारहरूसित शेखले आफ्नो भूमिका नै अन्तिमसम्म ब्याटिङ गर्ने रहेको र त्यसै अनुसार खेलेको बताए ।

‘विकेट अलिकति ट्रिकी थियो, स्लो थियो, त्यसैले जति हुन्छ विकेट हातमा राख्ने र इनिङलाई लास्टसम्म लिएर जाने योजना थियो,’ उनले भने ।

मुलपानीको विकेटको कन्डिसनमा अन्तिम ४–५ ओभरमा ४०–५० रन पनि बन्न सक्ने स्थिति रहेकाले आफूले मौका पाए चौका छक्का हान्ने नत्र सिंगल लिएर इनिङ अघि बढाउने योजना अनुसार खेलेको उनले स्पष्ट पारे ।

आफ्नो व्यक्तिगत लक्ष्य केही नरहेको भन्दै शेखले आउँदा दिनमा पनि टिमले जे जिम्मेवारी दिन्छ त्यो जिम्मेवारी अनुसार खेल्ने बताए ।

विश्वकपमा छनोट भएपछि आफ्नो एउटा सपना पूरा भएको उनले सुनाए । ‘क्रिकेट खेल्न थाल्दादेखि नै सबैको एउटा सपना हुन्छ कि विश्वकप खेल्छु,’ शेखले भने, ‘अहिले त्यो सपना पूरा भएको छ ।’

टी–२० विश्वकप नेपालमा हुने निर्णय भएकै दिनदेखि नेपाली समर्थकबीच खेल्न पाइने भइयो भनेर आफूहरु खुसी भएको उनले सुनाए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖