नयाँदिल्ली — विराट कोहलीले बुधबार आफ्नो ५० औं एकदिवसीय अन्तर्राष्ट्रिय शतक बनाए । अनि उछिने सचिन तेन्दुलकरलाई । कोहलीका लागि पनि तेन्दुलकर आदर्श रहे । त्यसैले पनि उनी आफ्नो तुलना तेन्दुलकरसँग गरेको चाहँदैनन् । आफ्नो ३५ औं जन्मदिनमा कोहलीले ४९ औं शतक बनाएका थिए ।
यो भयो नोभेम्बर ५ को कुरा । उनको ५० औं शतक भने न्युजिल्यान्डविरुद्ध वानखडे स्टेडियममा निस्केको थियो, आफ्नो २ सय ७९ औं इनिङ्स खेल्ने क्रममा । त्यो पनि अझ विश्वकप सेमिफाइनलमा । विजयी लोकपालीले कोहलीको जीवनी लेखेका छन् । उनी भन्छन्, ‘कोहलीले कहिले पनि कीर्तिमानका लागि खेलेनन् । उनको ब्याटिङ गर्ने शैली र कामप्रतिको लगावका कारण प्रदर्शनले जादुयी रूप धारण गर्छ । लगातार खेल्दा कीर्तिमान त बन्छ नै । कोहलीले सुनिल गावस्कर, कपिल देव र तेन्दुलकरबाट सिकेको भनेकै यही हो ।’
कुनै समय तेन्दुलकरको लोकप्रियता जस्तो थियो, त्यस्तै लोकप्रियताबाट गुज्रिरहेका छन्, कोहली । क्रिकेट भनेपछि हुरुक्कै हुने भारतीय समर्थक मात्र होइन, क्रिकेट मन पराउने पूरा विश्वमै उनललाई मन पराइन्छ । उनको जर्सी नम्बर रहेको छ, १८ । यो अंक भएको जर्सी भारतले खेल्ने जुन सुकै रंगशालामा जतासुकै देख्न पाइन्छ । उनले किन यो अंक चुने त ? उनले सन् २००८ को अगस्ट १८ मा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा भारतबाट ‘डेब्यु’ गरेका थिए । अनि यो अंकले त्यो दिनको पनि सम्झना दिलाउँछ, जुन दिन उनले आफ्नो बुबालाई गुमाए, त्यो भनेको सन् २००६ को डिसेम्बर १८ ।
उनले अहिलेसम्म २६ हजारभन्दा माथि अन्तर्राष्ट्रिय रन बनाइसकेका छन् । यसमा तीनै खाले क्रिकेट ढाँचामा गरेर ८० शतक सामेल छन् । यस्तोमा कोहलीको तेन्दुलकरसँग तुलना स्वाभाविक बन्छ । तर लोकपाल भन्छन्, ‘खासमा कोहली कुनै पनि प्रकारको तुलनालाई मन पराउँदैन, उनी आफ्नो अलग परियच भएको मान्छन् । अनि तेन्दुलरको पनि आफ्नै परिचय थियो । यी परिचय वास्तवमै फरक छन् । कोहलीले अहिले क्रिकेट किन खेलिरहेका छन् भने त्यसको कारण तेन्दुलकर पनि हुन् ।’
लेखक लोकपालका अनुसार तेन्दुलकरले आफ्नो समयका केही उत्कृष्ट बलरको सामना गरे । कोहलीले सामना गरेका बलर पनि कम्तीका थिएनन् । बुधबार कोहलीले कोशेढुंगा शतकको लक्ष्यमा पुग्नका लागि लुकी फर्गुसनको बलमा दुई रन बटुलेका थिए । त्यसपछि उनी सबैभन्दा पहिले खुसीले उफ्रे । त्यसपछि घुँडाले टेके । उनको त्यस खुसीयालीमा सम्मिलित हुने थिए, तेन्दुलकर आफैं, सँगै उनकी बलिउड नायिका श्रीमती अनुष्का शर्मा र फुटबल हस्ती डेविड बेकह्याम पनि ।
भारतीय कप्तान रोहित शर्मा कोहली र तेन्दुलकरपछि धेरै पछाडि छन्, ३१ एकदिवसीय अन्तर्राष्ट्रिय शतकसहित । त्यो शतकपछि कोहली आफैंले भनेका छन्, ‘मलाई महान् तेन्दुलकरले बधाई दिए । यो त सपना पूरा भएजस्तै क्षण थियो । यो वास्तवमै निकै सुखद क्षण थियो ।’ तेन्दुलकर आफैंले एक्स (ट्वीटर) मा लेखेका छन्, ‘मेरो कीर्तिमान कोही भारतीय खेलाडीले नै भंग गरेकोमा खुसी छु । अझ त्यो पनि विश्वकपको सेमिफाइनल जस्तो खेलमा । त्यसमाथि मेरो आफ्नो घरेलु मैदानमा ।’
