काठमाडौँ – व्यवसायी दुर्गा प्रसाईंले संघीयता भन्नेहरुलाई खेद्नुपर्ने बताएका छन्।बल्खुमा आफ्नो समूहको विरोध प्रदर्शनलाई सम्बोधन गर्दै प्रसाईंले यस्तो बताएका हुन्। उनले आफूहरुको प्रदर्शन आन्दोलन नभई जनविद्रोह भएको उनले जिकिर गरे।
उनले भने,’यो देशलाई फेरि पुरानो नेपाल बनाउनु छ, यो संघीयता भन्नेलाई लात्ताले दिएर खेद्नु छ। यो आन्दोलन होइन, यसलाई तपाई आन्दोलन नभन्नुस्, जनताले भनेको जनविद्रोह हो।’
उनले नेपालका कैयौँ नेताहरुको विदेशमा लगानी रहेको दाबी गरे। साथै प्रसाईंले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जनतासमक्ष आत्मसमर्पण गर्न सुझाव दिए।
‘अहिलेका प्रधानमन्त्री प्रचण्डलाई म राम्रोसँग चिन्दछु। तपाईं सरेन्डर गर्नुहोस्, जनतासित आउनुहोस्। हिजो यिनै जनताले पुर्याएका हुन् त्यो ठाउँमा,’ उनले भने।
उनले अब काठमाडौँ कब्जा गर्ने उनले चेतावनी दिए। उनले भने,’हामीले अब काठमाडौँ कब्जा गर्नुपर्छ। संसद् भवन कब्जा गर्नुपर्छ। हामीलाई चलाउने कोशिस भयो भने तपाईंहरुले काठमाडौँमा सबै दोकानहरु बन्द गराउनुपर्छ।’
कार्यक्रममा पुगेका राप्रपाका सांसद तथा प्रवक्ता ज्ञानेन्द्र शाहीले प्रदर्शनकारीहरुलाई निषेधाज्ञा तोडेर माइतीघर छिर्न जोस्याएपछि प्रहरीसँग मुठभेड भएको थियो।
