कञ्चनपुरः कञ्चनपुरको महेन्द्रनगर बजार अनिश्चितकालका लागि बन्दको घोषणा गरिएको छ।
कञ्चनपुर प्रहरीले महेन्द्रनगरको स्थानीय पार्कमा रहेको शहिद भीमदत्त पन्तको शालिक तोडफोडमा संलग्न रहेको आरोपमा १८ जनालाई पक्राउ गरेपछि उनीहरूलाई निशर्त रिहाइको माग राख्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले अनिश्चितकालका लागि कञ्चनपुर बन्द गर्ने निर्णय गरेको हो।
शुक्रबार महेन्द्रनगरमा गणतन्त्रको विरोध र राजसंस्थाको पुनःस्थापनाको माग गर्दै रापप्रासहितका स्थानीयले प्रदर्शन गरेका थिए।
त्यसक्रममा उनीहरूले पार्कमा रहेको शालिक तोडफोड गर्नुका साथै पार्कको गेटमा लेखिएको भीमदत्तको नामसमेत मेटेका थिए। पार्टीको भातृ संगठनले राज्यको भ्रष्टाचार र व्यतिथिका विरूद्ध विभिन्न चरणकाका शान्तिपूर्ण कार्यक्रमको आयोजना गरेको पहिलो दिनमै १८ जना नेता कार्यकर्ताहरूलाई धरपकड गरी प्रहरीले हिरासतमा राख्नु गैर लोकतान्त्रिक भएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले ध्यानाकर्षण भएको जनाएको छ।
पार्टीका नेता कार्यकर्ताहरूलाई रिहाइ नहुन्जेलसम्म कञ्चनपुर पर्णरूपमा अनिश्चितकालका लागि बन्द गर्ने पार्टीका जिल्ला अध्यक्ष गजेन्द्रबहादुर चन्दले बताए। उनले यसबाट यातायात र व्यापार व्यवसायमा पर्ने असुविधाप्रति दुःख व्यक्त गर्दै बन्दको कार्यक्रमलाई सहयोग गरिदिन आग्रह समेत गरे। बन्दको प्रभाव आज महेन्द्रनगरबजारमा परेको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश डाँगीले शालिक तोडफोडमा संलग्न १८ जनालाई नियन्त्रणमा लिएको बताए। उनले कहिकतैबाट असुरक्षा नहोस् भनेर चारैतिर सुरक्षाकर्मी परिचालन गरिएको समेत बताए। महेन्द्रनगर बजारको सुरक्षाका लागि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।
