• Friday 9th of October 2026

राँगाबाट आगामी पुसदेखि वीर्य सङ्कलन सुरू गरिने


  • धनकुटा खबर
  • .

छिमेकी मुलुक भारतले नेपाललाई उपहारमा दिएका १५ उन्नत जातका मुर्रा राँगामध्ये सात वटा पोखरा ल्याइएको छ। पोखरास्थित राष्ट्रिय पशु प्रजनन कार्यालयमा शुक्रबार राति ती राँगा ल्याइएको हो।

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को गत जेठमा सम्पन्न भारत भ्रमणका क्रममा नेपालको अनुरोधमा भारतले १५ मुर्रा राँगा दिने घोषणा गरेको थियो।

कृषि तथा पशुपंक्षीका क्षेत्रमा दुई देशबीचको सहकार्य अनुरूप भारतले दिएकामध्ये सात राँगा पोखरा ल्याइएको राष्ट्रिय पशु प्रजनन कार्यालयका प्रमुख डा. जगदीश पाण्डेले जानकारी दिए।उनका अनुसार पोखरा ल्याइएका राँगालाई २१ दिन क्वारेन्टिनमा राखिने र त्यसपछि मात्र वीर्य उत्पादन सिकाइ सुरू हुनेछ।

राँगाबाट आगामी पुसदेखि वीर्य सङ्कलन सुरू गरिने पाण्डेले बताए।

‘मुर्रा राँगा स्वस्थ छन् भनेर प्रमाणित गरेर नेपाल ल्याइएको भए पनि यहाँ क्वारेन्टिनमा राख्नुपर्ने नियम छ। क्वारेन्टिन अवधि पूरा नभई अन्य बथानसँग मिसाउँदैनौं’, उनले भने, ‘यहाँँ ल्याइएका सबै दुई वर्ष उमेर पूरा भएका छन्। विभिन्न पशु रोगको परीक्षणपछि मात्र वीर्य संकलन सुरू गर्छौं।’

एउटा राँगाबाट वार्षिक १५ देखि २० हजार डोज वीर्य उत्पादन हुने अनुमान गरिएको पशु प्रजनन कार्यालयले जनाएको छ। भैंसीमा पहिलोपटक उन्नत जातको नश्ल सुधारका लागि भारतबाट राँगा ल्याइएकाले यहाँका कृषक लाभान्वित हुने कार्यालय प्रमुख डा पाण्डेले बताए।

भारतले दिएका मुर्रा राँगा नेपालगञ्जस्थित रूपेडिया नाका हुँदै स्वदेश ल्याइएको हो। उच्च नश्लका मुर्रा भैंसीले रैथाने भैंसीभन्दा दोब्बर परिमाणमा दूध दिन्छन्। सरकारले यहाँका रैथाने भैंसीमा नश्ल सुधार गर्न भारतबाट मुर्रा राँगा ल्याएको हो। रासस

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖