• Monday 5th of October 2026

अरिजितको लाइभ गीत संगीतमा नाचे नेपाली दर्शक


  • धनकुटा खबर
  • .

काठमाडौँ । बलिउडका चर्चित गायक अरिजित सिंहको लाइभ गीत सङ्गीतमा नेपाली दर्शक नाचेका छन् । शनिवार साँझ चाबहिलस्थित हायात ग्राउन्डमा आयोजित ‘अरिजीत सिंह लाइभ इन नेपाल’ कार्यक्रममा अरिजितले आफ्ना चर्चित गीतहरू सुनाएका थिए ।

साँझ ५ बजे स्टेज चढेका सिंहले करिब ४ घन्टा दर्शकलाई मनोरञ्जन गराएका थिए । कार्यक्रममा गीत संगीतका प्रस्तुतिका अलवा दर्शकलाई उनले अटोग्राफ पनि दिए । कार्यक्रममा एक नेपाली फ्यानले दिएको नेपालको राष्ट्रिय झन्डा काँधमा राखेर केही प्रस्तुति समेत दिएका थिए ।

दर्शकको आग्रह अनुसार नै गीत गाएका उनले कार्यक्रमको सुरुवात ‘आशिकी’ फिल्मको ‘तुम हि हो’ गीतबाट गरेका थिए । त्यसपछि ‘केसरिया तेरा मेरा’, ‘जो तुम ना हो’, ‘बेखयाली’, ‘प्यार झुठा थो ता’, ‘केहेत हे खुदा ने इस’, ‘अगर तुम साथ हो’, ‘ए दिल हे मुस्किल’, ‘तेरा प्यार मे’, ‘चलेया’ लगायतका गतिबाट दर्शकलाई भरपुर मनोरञ्जन दिलाएका थिए ।

होटेलको खुल्ला चौरमा कार्यक्रम भएकोले वरपरका घरको छतमा समेत दर्शकको भिड देखिन्थ्यो । अरिजितको कन्सर्ट हेर्नका लागि हायात होटल अगाडिको सडकमा पनि बाक्लो भीड थियो । आयोजकले ६ हजार ५ सयदेखि १९ हजारसम्मका टिकटको ब्यवस्था गरेको थियो ।

करिब २० हजार दर्शकले अरिजितको यो कन्सर्ट प्रत्यक्ष हेरेका थिए । कार्यक्रममा उनले ‘आउ न आउ यो मनलाई’ बोलको नेपाली गीत समेत गाएका थिए । उनले कार्यक्रमको बिट ‘अच्छा चलता हुँ दुवाओमे याद रखना’ बाट गराएका थिए । कार्यक्रमको आयोजना गराज इन्टरटेन्मेन्ट र एमएन प्रोडक्शनले गरेको हो ।

अरिजित भारतमा पार्श्व गायकमा रुचाइएका कलाकार हुन् । ‘तुम हि हो’, ‘केसरिया तेरा’, ‘खैरियत’, ‘अपना बना ले’ लगायत उनका थुप्रै गीत चर्चित छन् । आयोजकले २०१९ देखि अरिजितलाई नेपाल ल्याउने प्रयास गरे पनि अहिले सफल भएको हो ।

नेपालको मनोरञ्जन क्षेत्रका साथै पर्यटन क्षेत्रमा समेत टेवा पुर्‍याउने विश्वासकासाथ कार्यक्रम आयोजना भएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖