• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

कोमल वलीद्वारा आमाको नाममा २० लाख रुपैयाँको अक्षयकोष स्थापना


  • धनकुटा खबर
  • .

काठमाडौँ : गायिका तथा एमाले नेतृ कोमल वलीको परिवारले स्वर्गीय आमा दीपा वलीको नाममा २० लाख रुपैयाँको अक्षयकोष स्थापना गरेको छ । दीपा वलीको मङ्सिर २ गते काठमाडौँमा निधन भएको थियो ।

आमाको सम्झनामा दाङका छात्राहरूलाई अध्ययनका लागि सहज होस् भन्ने हेतुले यो अक्षयकोषको स्थापना गरिएको कोमल वलीले बताइन् । अक्षय कोषबाट दाङ जिल्लाका थारु र दलित समुदायका छात्राहरूलाई पढ्न छात्रवृत्ति प्रदान गरिने कोमल वलीले बताइन् । ‘एक जना थारु समुदाय र एक जना दलित समुदायबाट गरेर कक्षा ८ बाट उच्च शिक्षासम्मका लागि अध्ययनमा सहज होस् भनेर सम्पूर्ण खर्च यो ट्रस्टले व्यहोर्ने छ,’ वलीले बताइन् ।

‘आमाले पढ्न पाउनु भएन,’ उनले भनिन्, ‘स्कुल जान नपाए पनि आमामा राम्रो राजनीतिक तथा सामाजिक चेत थियो, छोरीहरूले पनि पढ्नु पर्छ भनेर हामीलाई सधैँ पढ्न हौसला प्रदान गर्नुहुन्थ्यो ।’ आमाले सबैका छोरी पढ्नुपर्छ भन्ने गरेको र उनको नाममा स्थापित यो कोषले आर्थिक अभावमा अध्ययनबाट वञ्चित छोरीहरूलाई सहयोग गर्ने विश्वास आफूले लिएको वलीले बताइन् ।

त्यस्तै, वली परिवारले वर्षेनी आमाको स्मृति दिवसको अवसर पारेर एक जना महिला नेतृलाई सम्मान गर्ने पनि घोषणा गरेको छ । राजनीतिमा लागेर कुनै लाभको पदमा नपुगेका ६० वर्षमाथिका महिलालाई ‘दीपा वली स्मृति सम्मान’बाट सम्मान गरिने कोमल वलीले बताइन् ।

आफ्नी आमा पञ्चायतकालीन समयमा नै महिला संघमा सक्रिय रहेर नगर उपाध्यक्षसम्म बनेर काम गरेको स्मरण गर्दै वलीले भनिन्, ‘आमा राजनीतिमा महिलाको सहभागिता हुनुपर्छ, त्यसले परिवार र समाज दुवैलाई उन्नत बनाउन र चेतना फैलाउन सहयोग गर्छ भन्नुहुन्थ्यो । उहाँकै यही विश्वासलाई आधार बनाएर हामीले यो सम्मान वर्षेनी दिने योजना बनाएका हौँ ।’

दीपा वली र उनका श्रीमान् ललित वलीको नाममा स्थापित दीपा–ललित ट्रस्टले छात्रवृत्ति र सम्मानको कार्यक्रमको कार्यविधि बनाएर कार्यान्वयन गर्ने र पहिलो वार्षिकीमा यो वितरण गरिने पनि वलीले जानकारी दिएकी छिन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖