• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

नेपालबाटै ओमानमा साढे दुई लाखमा बेचिइन् सञ्जिता


  • धनकुटा खबर
  • .

झापा । वैदेशिक रोजगारीका सिलसिलामा ओमान पुगेकी मेचीनगर नगरपालिका–१५ निवासी २८ वर्षीया सञ्जिता राजबंशीलाई रोजगारदाता कम्पनीले अलपत्र पारेपछि उद्धार गरेर स्वदेश फर्काइएको छ ।

गत असोज ३० गते स्काइ अफ दी वल्र्ड नामक म्यानपावर कम्पनीले मासिक ५० हजार तलब दिने आश्वासनमा उनलाई ओमानको अल लुल्लाह अल मिथल्ता ट्रेडिङ कम्पनीमा पुर्‍याएको थियो ।

ब्यूटी पार्लरको काम दिने भनेर कम्पनीले मुख्य सहरबाट टाढा एकान्तमा रहेको तीन तले भवनमा पुर्‍याएर पर्यटकलाई नुहाइदिने र मसाज गर्ने काममा जबरर्जस्ती लगाउने प्रयास गरेको थियो ।

कम्पनीका सञ्चालकले मुख थुनेर शारीरिक यातना समेत दिने गरेको उनले सुनाइन् । सञ्जिताले यो खबर नेपालस्थित आफ्नो परिवारसम्म पुर्‍याएपछि झापा निर्वाचन क्षेत्र नं १ का प्रतिनिधिसभाका सदस्य विश्वप्रकाश शर्मामार्फत ओमानस्थित नेपाली दूतावासले उनको सकुशल उद्धार गरेको हो ।

‘ओमानमा मलाई चार तले भवनको अँध्यारो कोठामा एक्लै राखेर पर्यटकलाई नुहाइदिने काम गर्न जबरर्जस्ती गरे,’ उनले भनिन्, ‘ब्यूटीपार्लरको काम दिने भनेर ल्याएको हो, यस्तो काम गर्दिन भनेर मैले ठाडै अस्वीकार गरेँ । त्यसपछि मलाई उनीहरुले बन्धक बनाएर तनाव दिए ।’

उनले मसाजको काम नगर्ने स्पष्ट पार्दै आफूलाई नेपाल फर्किने वातावरण बनाइदिन आग्रह गर्दा रोजगारदाता कम्पनी अल लुल्लाह अल मिथल्ता ट्रेडिङका सञ्चालकले दुई लाख ५० हजारमा किनेको बताए ।

‘तिमीलाई दुई लाख ५० हजारमा हामीले किनेर ल्याएको हो, त्यो पैसा घरबाट ल्याएर हामीलाई देउ अनि मात्र घर फर्किन पाउँछौँ भन्यो,’ उनले भनिन्, ‘त्यसपछि मैले बाँच्ने आशा मारिसकेको थिएँ ।’

उनी ‘हेयर स्टाइलिस्ट’को काम गर्ने लिखित सम्झौतासहित स्काई अफ दी वल्र्ड म्यानपावर कम्पनीको विर्तामोड शाखामार्फत ओमान पुगेकी थिइन् । विर्तामोडमा रहेको अप्सरा ब्यूटी पार्लरमा काम सिक्दा पार्लरकी सञ्चालक ललिता अधिकारीले स्काई म्यानपावरमार्फत आफूलाई ओमान जान प्रलोभन देखाएको सञ्जिताले सुनाइन् ।

ओमानमा अलपत्र परेपछि सञ्जिताका परिवारले उद्धारका लागि स्काइ मेनपावर कम्पनी र अप्सरा ब्यूटी पार्लर गुहारेका थिए । दुबै पक्षले आफूले जिम्मेवारी नलिने बताएपछि सञ्जिताका काका वृक्षलाल राजबंशी सांसद शर्मालाई भेट्न पुगेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖