बाग्लुङ – बडिगाड गाउँपालिका–७ का हर्कबहादुर विक भतिजा मनबहादुर कामीको नागरिकता बनाउन इलाका प्रशासन कार्यालय बुर्तिबाङ धाएको चार दिन भयो । उहाँले लगातार चार दिनसम्म पनि पालो पाउनुभएको छैन । बजारमा बस्दा बढी खर्च लाग्ने हुँदा उहाँसहित भतिजा र भाउजु पनि घरदेखि नै आउजाउ गरिरहनुभएको हो । तीन जना बुर्तिबाङ पुगेको एकतर्फी भाडा नै दुई हजार दुई सय रुपैयाँ लाग्छ ।
चार दिनसम्म उहाँहरूले गाडी भाडा मात्रै आठ हजार आठ सय रुपैयाँ खर्च गरिसक्नुभयो । खाना र खाजामा चार हजार रुपैयाँभन्दा बढी खर्च भयो । एक जना व्यक्तिको नागरिकता बनाउन हजारौँ खर्च हुनुपर्ने बाध्यता हर्कबहादुरको मात्रै होइन इलाका प्रशासन कार्यालय बुर्तिबाङमा सेवा लिन आउने धेरैको छ । दिनभरी लामो लाइनमा बस्ने र साँझ परेपछि पालो नपाएर फर्कनेको सङ्ख्या ठूलो छ । दाइको केही समय अगाडि मृत्यु भएपछि भतिजाको नागरिकता बनाउन आउनुभएका हर्कबहादुरले यस्तो समस्या पहिले बाग्लुङ पुगेर सेवा दिँदा पनि नपाएको सुनाउनुहुन्छ ।
‘ऋण खोजेर नागरिकता बनाउन आएको हो, चार दिनसम्म धाउँदा ठूलो खर्च भइसकेको छ’, विकले भन्नुभयो, ‘तर काम भने बनेको छैन । चार दिनसम्म पालो कुर्दै बितेको छ ।’ एक दिनमै बन्ने नागरिकता बोलिदिने मान्छे कोही नहुँदा बन्न नसकेको उहाँको गुनासो छ । ‘यतिका दिनभयो, घरमा कामको चटारो छ, यहाँ आउन थालेपछि घर र बारीको केही काम गर्न पाइएको छैन, दिनदिनै हजारौँ रुपैयाँ खर्च भइराखेको छ । काम बन्दैन । पालो कुर्दा कुर्दा दिन बित्छ तर पालो आउन्न’, विकले भन्नुभयो, ‘पहिलो दिन नै नागरिकता बन्छ होला भनेर छिमेकीसँग पाँच हजार रुपैयाँ ऋण गरेर आइयो, अब त नागरिकता बन्दासम्म २० हजार रुपैयाँले पनि नपुग्ने अवस्था भयो ।’
विकले भतिजाको नागरिकता बनाउन पाए विदेश पठाउने सोच बनाउनुभएको छ । ‘नागरिकता बनाइदिन पाए विदेश पठाउन हुन्थ्यो, प्रशासनबाट मङ्गलवार बल्ल पालो आउने खबर पाएको छु’, उहाँले भन्नुभयो ।
ढोरपाटन नगरपालिका–३ पुर्कोटका बुद्धबहादुर गुरुङ श्रीमतीको नागरिकता बनाउन आएको तीन दिन भयो । तीन दिनसम्म पालो नपाउँदा भारत फर्कन ढिला भएको छ । दुई दशकदेखि भारतमा रोजगार गर्दै आउनुभएका गुरुङले अहिलेसम्म श्रीमतीको नागरिकता बनाउनुभएको थिएन । नागरिकता बनाएर मङ्गलवार नै भारत फर्कने भने पनि अहिलेसम्म बन्न नसकेको गुरुङले गुनासो गर्नुभयो । प्रशासनमा सेवा लिनेको ठूलो भीड हुँदा पालो आए–नआएको थाहा पाउन पनि मुस्किल पर्ने उहाँको भनाइ छ । कर्मचारीले आइतवार मात्रै आफ्नो पालो आउने जानकारी गराएको गुरुङले सुनाउनुभयो ।
गुरुङले भन्नुभयो, ‘वडा कार्यालयबाट सिफारिस लिएर आएको तीन दिन भयो, गाउँमा त छिट्टै काम हुन्छ भन्थे तर यहाँ आएको तीन दिन बित्यो तर काम बन्ने अत्तोपत्तो छैन, धेरैजसो हामी भारततिरै बस्छौँ, त्यही भएर नागरिकता बनाइएको थिएन, अहिले चाहियो र बनाउन लागेको धेरै ढिला भयो, किन ढिला भयो भनेर सोध्दा काम गर्ने मान्छे छैनन् भन्छन्, आउँदाजाँदा धेरै खर्च भयो, उता (भारत) जान पनि ढिला भइसक्यो ।’
इलाका प्रशासन कार्यालय बुर्तिबाङका प्रमुख लोकबहादुर कुँवरले कर्मचारी अभावले सेवा प्रवाहमा समस्या भएको बताउनुभयो । कार्यालयमा १० जनाको दरबन्दी रहे पनि अहिले तीन जनाले मात्रै सेवा दिनुपरेको छ । विभिन्न कार्यालयबाट सरुवा भएर आएका कर्मचारी आउँदाकै दिन अन्तै सरुवा हुने हुँदा सेवा प्रवाहमा निकै कठिन भएको कुँवरको भनाइ छ । यहाँबाट नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र, नाता प्रमाणित लगायतका सेवा प्रवाह हुँदै आएको उहाँ बताउनुहुन्छ । कर्मचारी नहुँदा अहिले राहदानीको काम ठप्प भएको कुँवरले बताउनुभयो ।
‘हरेक दिन सयौँ सेवाग्राही आएर लाइन बस्नुहुन्छ, सबैलाई सेवा दिएर पठाउने कोसिस गर्छौँ तर थोरै कर्मचारीले सबैलाई सेवा दिन निकै गाह्रो हुँदोरहेछ, दिनमा एक सयभन्दा बढीलाई सेवा दिन पनि सकिने अवस्था छैन’, उहाँले भन्नुभयो । अहिले नागरिकताको प्रतिलिपि लिने, नागरिकता बनाउन आउनेको सङ्ख्या निकै ठूलो रहेको उहाँको भनाइ छ । सरुवा भएर आएका कर्मचारी एक दिन पनि नबस्ने र त्यसको असर सेवाग्राहीलाई सास्ती भएको उहाँले सुनाउनुभयो ।-रासस
