एजेन्सी – अर्जेन्टिनी कप्तान लियोनेल मेस्सीले सन् २०२२ मा कतारमा भएको फिफा विश्वकपमा लगाएका ६ वटा जर्सी संयुक्त रुपमा ६.१ मिलियन पाउण्डमा लिलामी भएको छ।
सन् २०२२ को विश्वकपमा लियोनेल मेस्सीले लगाएका छ वटा जर्सी न्युयोर्कमा भएको सोथेबीको लिलामीमा संयुक्त रूपमा ७.८ मिलियन डलर (६.१ मिलियन) पाउन्डमा बिक्री भएको हो ।
मेस्सीको कप्तानीमा अर्जेन्टिनाले फ्रान्सलाई टाइब्रेकरमा ४–२ ले पराजित गर्दै विश्वकपको च्याम्पियन बनेको थियो । निर्धारित र अतिरिक्त समयमा ३–३ गोलको बराबरी भएपछि खेल टाइब्रेकरमा लम्बिएको थियो । मेस्सीले आफ्नो कप्तानीमा अर्जेन्टिनालाई पहिलो तथा उनी आँफै पनि पहिलोपल्ट विश्व च्याम्पियन बन्न सफल भएका हुन् ।
मेस्सीले कतार विश्वकपमा सबै सात खेल खेलेका थिए । (फाइनलको पहिलो हाफ, सेमिफाइनल, क्वाटरफाइनल, प्रि–क्वाटर फाइनल र समूह चरणका दुई खेलका गरी कुल ६ वटा जर्सी लिलामीका राखिएको थियो । उनले समूह चरणमा लगाएको एक जर्सी अष्ट्रेलियाका अन्तर्राष्ट्रिय क्यामी डेभलिनसँग साटफेर गरेका थिए ।
खेलमा लगाएको फुटबल जर्सीको रेकर्ड डिएगो म्याराडोनाको ‘ह्यान्ड अफ गर्ड’ जर्सी हो, जुन २०२२ मा ७.१ मिलियन पाउन्डमा बिक्री भएको थियो ।
आठ पटकको बालोन डी’ओर विजेता मेस्सी विश्वकपको इतिहासमा समूह चरण, अन्तिम १६, क्वाटरफाइनल, सेमिफाइनल र एउटै प्रतियोगिताको फाइनलमा गोल गर्ने पहिलो खेलाडी हुन् ।
लिलामीबाट प्राप्त आम्दानीको एक भाग लियो मेस्सी फाउन्डेशनको सहयोगमा सान्ट जोन डे डेउ बार्सिलोना बाल अस्पतालको नेतृत्वमा युनिकास परियोजनालाई दान गरिने सोथेबीले बताएका छन् । उनका अनुसार त्यहाँ त्यो रकम दुर्लभ रोगबाट पीडित बालबालिकाको आवश्यकताहरू पूरा गर्न प्रयोग गरिनेछ ।
