• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

जाडो बढेपछि मनाङका विद्यार्थीलाई काठमाडौंको स्वयम्भूमा पढाउन थालियो


  • धनकुटा खबर
  • .

९ पुस, मनाङ । हिमाली जिल्ला मनाङमा हिउँद लागेसँगै चिसो छल्न बाबुआमासँगै छोराछोरी पनि अन्यत्र जाने गर्दछन् । जिल्लामा बसोबास नहुँदा यहाँका विद्यालय चार महिना पूर्णरूपमा बन्द हुनेहुँदा विद्यार्थीको पठन पाठनमा समस्या हुँदै आएको छ ।

विद्यार्थीको पढाइलाई मध्यनजर गरी नार्पाभूमि गाउँपालिकाले पहिलो पटक ‘घुम्ती कक्षा’ सञ्चालन गरेको त्यहाँका अध्यक्ष कुञ्जो तेञ्जिङ लामाले जानकारी दिए । अधिकांश विद्यार्थी काठमाडौँमा रहेकाले पठनपाठन निरन्तर गराउने उद्देश्यले स्वयम्भूमा घुम्ती कक्षा सञ्चालन गरिएको उनले बताए ।

अध्यक्ष लामाले भने, ‘लामो समयसम्म विद्यार्थीले बसेर अध्ययन नगर्दा उनीहरुको भविष्यमाथि खेलबाड भएको महसुस गरी घुम्ती कक्षा सञ्चालन गरेका हौँ । चार महिना यहीँ कक्षा सञ्चालन गरी विद्यार्थीलाई पढाउने व्यवस्था गरेका छौँ ।’

मनाङमा जाडो हुँदा विद्यालय बन्द गर्ने र शिक्षक पनि बिदामा बस्ने गरेका थिए । अब भने काठमाडौँमै कक्षा सञ्चालन गरी अध्यापन गराउने व्यवस्था गरिएको छ । पहिले मनाङमा समग्र देशको शैक्षिक सत्रभन्दा अगाडि नै अन्तिम परीक्षा सकेर हिउँदमा न्यानो ठाउँतिर झर्ने गरिन्थ्यो । ‘तर अहिले देशभरका विद्यालयमा एउटै शैक्षिकसत्र पालना गर्नुपर्दा हिमाली क्षेत्रका विद्यार्थीको भविष्यमा असर पुगेको आभास हुन्छ । त्यसैले उक्त कक्षा सञ्चालनमा ल्याएका हौँ, अध्यक्ष लामाले भने ।

हिउँदमा चार महिना विद्यालय बन्द हुन्थ्यो । विद्यालय खुल्नासाथ नयाँ शैक्षिकसत्र सुरुआत हुँदा यहाँका बालबालिकालाई सहज हुन्थ्यो तर अहिले परीक्षाको नतिजाको पर्खाइमा रहने विद्यार्थी अहिले कसरी पढ्ने भन्ने ध्याउन्नमा हुने गरेकाले सहजताका लागि पालिकाले पहिलो पटक घुम्ती कक्षा सञ्चालन गरेको जनाइएको छ ।

यहाँका विद्यार्थीलाई भविष्यमा देशैभरका विद्यालयसँग प्रतिस्पर्धीका रुपमा उतार्न घुम्ती कक्षाले प्रेरणा मिल्ने अपेक्षा गाउँपालिकाको छ । मनाङमा मङ्सिरदेखि फागुनसम्म विद्यालय बन्द हुने गर्दछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖