• Monday 5th of October 2026

पूर्वराष्ट्रपति यादव वीर अस्पताल भर्ना,कस्तो छ अवस्था ?


  • धनकुटा खबर
  • .

काठमाडौ । पूर्वराष्ट्रपति रामवरण यादव स्वास्थ्य उपचारका लागि वीर अस्पताल भर्ना भएका छन्।

उच्च रक्तचाप, मधुमेह र ढाड दुख्ने समस्या देखिएपछि पूर्वराष्ट्रपति यादव आज वीर अस्पतालको भिआइपी कक्षमा भर्ना भएको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का उपकुलपति प्रा.डा. भूपेन्द्रकुमार बस्नेतले जानकारी दिए।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले पूर्वराष्ट्रपतिको स्वास्थ्य अवस्थाबारे अस्पतालसँग जानकारी लिएका छन्। उनले पूर्वराष्ट्रपतिसँगै अस्पतालमा उपचाररत कोशी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री एकराज कार्की र नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्रप्रसाद यादवलाई भेटे। मन्त्री बस्नेतले उनीहरूको स्वास्थ्यलाभको कामना गर्दै सरकारी अस्पतालप्रति सर्वसाधारणदेखि उच्च पदस्थ व्यक्तित्वको विश्वास बढेको बताए।

पूर्वराष्ट्रपति यादवलाई उपचारका लागि थप केही दिन अस्पतालमा राखिने अस्पतालले जानकारी दिएको छ।

“उहाँको अवस्था स्थिर छ। चिकित्सकको टोलीले थप स्वास्थ्य अवस्थाको मूल्याङ्कन गरिरहेको छ, त्यसैले उहाँ थप केही दिन चिकित्सकको निगरानीमा बस्नुहुन्छ”, उपकुलपति प्रा. डा. बस्नेतले जानकारी दिए।

खुकुरी प्रहार भएपछि चार दिनअघि अस्पताल भर्ना भएका नेपाली कांग्रेसका सहमहामन्त्री यादव र डेङ्गी तथा मुटुको समस्याले अस्पताल भर्ना भएका मन्त्री कार्कीको अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ।-नागरिक

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖