• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

ज्वाइँलाई कप्तानबाट हटाउने चर्चा चलेपछि प्रतिरक्षामा ओर्लिए चर्चित क्रिकेटर साहिद अफ्रिदी


  • धनकुटा खबर
  • .

काठमाडौँ । पाकिस्तानको टी–२० क्रिकेट टोलीका कप्तान हुन्, साहिन शाह अफ्रिदी । उनी विश्व क्रिकेटकै प्रभावशाली तिब्रगतिका बलर पनि हुन् । तर, पाकिस्तानले अन्तर्राष्ट्रिय प्रतियोगिता खासै गतिलो नतिजा ल्याउन नसकेपछि पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले साहिन शाह अफ्रिदीलाई कप्तानबाट हटाउने तयारी गरिरहेको छ।

पाकिस्तानका सञ्चारमाध्यमले पनि विगत केही समययता साहिन शाह अफ्रिदीलाई टी–२० कप्तानबाट हटाउने तयारी भइरहेको समाचार प्रकाशित गर्दै आएका छन् । यस्तोमा आफ्नो समयका चर्चित पाकिस्तानी क्रिकेटर साहिद अफ्रिदी आफ्नो ज्वाइँको प्रतिरक्षामा अगाडि आएका छन् ।

साहिन शाह अफ्रिदी पाकिस्तानी टोलीका पूर्वकप्तान समेत रहेका साहिद अफ्रिदीका ज्वाइँ हुन् । साहिद अफ्रिदीले कप्तानको भूमिकामा आफूलाई प्रमाणित गर्न साहिन शाह अफ्रिदीलाई पीसीबीले अझ केही समय दिनु पर्ने धारणा व्यक्त गरेका छन् ।

‘यदि कसैको क्षमतामाथि विश्वास गरेर राष्ट्रिय टोलीको कप्तान बनाइन्छ भने उसलाई आफ्नो क्षमता प्रदर्शन गर्न केही समय पनि दिनु पर्छ । कप्तानको जिम्मेबारी पाएको छोटो समयमा कसैले पनि आफूलाई प्रमाणित गरेर देखाउन सक्दैन । मेरो विचारमा पीसीबीले साहिन शाह अफ्रिदीलाई पनि अझ केही समय दिनु पर्छ,’ साहिद अफ्रिदीले भनेका छन् ।

साहिद अफ्रिदीले पीसीबीमा नेतृत्व परिवर्तन भएसँगै त्यसको छायाँ नीति, नियम र पद्धतिमा पनि पर्ने गरेको भन्दै चिन्तासमेत व्यक्त गरेका छन् । ‘बोर्डमा अनुहार परिवर्तन हुनासाथ त्यसको छायाँ हाम्रो पद्धतिमा पनि पर्ने गरेको छ । यो सबैभन्दा ठूलो चिन्ताको विषय हो,’ उनले भनेका छन् ।

साहिन शाह अफ्रिदीलाई टी–२० राष्ट्रिय टोलीको कप्तान बनाउन पनि साहिद अफ्रिदीले ठूलै भूमिका निर्वाह गरेका थिए । आईसीसी एकदिवसीय विश्वकपताका बाबर आजमलाई हटाएर साहिन शाह अफ्रिदीलाई टी–२० टोलीको कप्तान बनाइएको थियो ।

साहिद अफ्रिदीले आफू राष्ट्रिय टोलीमा विदेशी प्रशिक्षक नियुक्त गरिनु पर्ने पक्षमा रहेको धारणा पनि व्यक्त गरेका छन् । ‘पक्कै पनि राष्ट्रिय टोलीमा विदेशी प्रशिक्षक चाहिन्छ । तर, विदेशी प्रशिक्षक नियुक्त गर्दा उसको क्षमतालाई पनि ध्यान दिनु पर्छ । एन्डी फ्लावरजस्तो गौरवशाली इतिहास बोकेको व्यक्तिलाई प्रशिक्षक बनाउनु पर्छ,’ उनले भनेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖