काठमाडौं । रूपन्देहीमा एक एकल महिलालाई जबरजस्ती करणी गरेको भिडियो खिचेर ब्ल्याकमेल गरेको आरोपमा एक जना पक्राउ परेका छन् । महिलाको घरमै गएर जबरजस्ती करणी गरी भिडियो खिचेर ब्ल्याकमेलिङ गरेपछि एक जनालाई पक्राउ गरिएको हो ।
लुम्बिनी सांस्कृतिक नगरपालिका निवासी ती महिलाको घरमै गएर जबरजस्ती करणी गरी भिडियो खिचेर आफूले भने अनुसार नगरे सार्वजनिक गरिदिने धम्की दिने बुटवल उपमहानगरपालिका ११ का सिद्धार्थ गुरुङलाई रूपन्देही प्रहरीले पक्राउ गरेको हो ।
पटक पटक करणी गरी आफ्नो ५ करोडको सम्पत्तिसमेत लगेको ती महिलाले दाबी गरेकी छन् । पक्राउ परेको गुरुङ प्रहरी हिरासतमा नभई सिद्धार्थ सिटी अस्पतालमा बसेका छन् । गुरुङको अप्रेशन भएका कारण चिकित्सकको सिफारिस अनुसार उनी अस्पताल भर्ना भएका हुन् ।
निर्माण व्यवसायी गुरुङले सुरुमा ती महिलालाई दिदीको नाता लगाएर नजिकिएका थिए । प्रहरीले अनुसन्धानका लागि भन्दै तीन पटक गरेर १९ दिन म्याद थप गरिसकेको छ । प्रहरीका अनुसार घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको छ ।
