काठमाडौं । आउँदो साता देशका केही स्थानमा ‘मध्यम’सम्म वर्षाको सम्भावना छ । आइतबार (भोलि)भन्दा सोमबार (पर्सि) वर्षाको सम्भावना बढी रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
वर्षा हुने मौसमी गतिविधि सोमबारदेखि बढ्ने महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले बताए । “सोमबारदेखि रेनफल (वर्षा)को गतिविधि बढ्ने देखिन्छ,” उनले बाह्रखरीसित भने, “आइतबारभन्दा सोमबार वर्षाको सम्भावना बढी छ । केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुनसक्छ ।”
बिहीबार र शुक्रबार (हिजो र अस्ति)को तुलनामा मौसममा प्रभाव भने शनिबार नै परिसकेको उनले बताए । यस दिन बादल बढेको र तुलनात्मक रूपमा तापक्रम घटेको उनले जानकारी दिए ।
“आजै बादल लागेको छ, शीतल भएको छ,” उनले भने, “बदलीका कारण हिजोअस्तिभन्दा तापक्रम घटेको छ ।”
तर, शनिबार बेलुका ७ बजेसम्म कतै वर्षा रेकर्ड नभएको उनले बताए । “हामीले दैनिक मोनिटरिङ गर्ने सिनोप्टिक केन्द्रमा वर्षा रेकर्ड भएको छैन । यस्तो केन्द्र २० वटा छन्,” उनले भने, “अटोमेटिक वेदर स्टेसनबाट पनि हेर्न सकिन्छ, तर त्यसमा पनि वर्षा भएको देखिएको छैन ।”
आइतबार देशका धेरै स्थानमा बदली (आकाशमा बादल)को भने सम्भावना रहेको उनले बताए । “भोलि (आइतबार) दिउँसो कोसी प्रदेशका थोरै र अरू एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । ठूलो वर्षा होइन,” उनले भने, “भोलि दिउँसो तराईका केही स्थानमा हावाहुरीको सम्भावना पनि छ ।”
तुलनात्मक रूपमा सोमबारदेखि वर्षाको सम्भावना बढी रहेको उनले प्रस्ट पारे । आउँदो बुधबार, बिहीबार वर्षाको सम्भावना अझ बढी रहेको उनको भनाइ छ ।
“सिस्टमले केही संकेत गरे पनि हामीले तीन दिनको पूर्वानुमान सार्वजनिक गर्ने गरेका छौँ,” उनले भने, “तर, हाम्रो साप्ताहिक कृषि मौसम बुलेटिन हेर्नुभयो भने त्यहाँ बुधबार, बिहीबार वर्षाको सम्भावना अलि बढी देखिन्छ ।”
काठमाडौंमा पनि आइतबार वर्षाको सम्भावना नरहेको उनले बताए । आउँदो साता काठमाडौंमा वर्षाको सम्भावना भने रहेको उनले स्पष्ट पारे । “भोलि (आइतबार) छैन । तर, यो अवधि (आउँदो बिहीबारसम्म) काठमाडौंमा वर्षा हुन सक्ने देखिन्छ,” उनले भने ।
हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ ।
