• Monday 19th of October 2026

आज पनि वर्षाको सम्भावना


  • धनकुटा खबर
  • .

काठमाडौँ उपत्यकामा आज (सोमबार) पनि वर्षाको सम्भावना देखिएको मौसमविद्ले बताएका छन्।

यसअघि आइतबार बेलुकी काठमाडौँ उपत्यकामा हल्का वर्षा भएको थियो।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीका अनुसार आज पनि काठमाडौँ उपत्यकामा हल्का वर्षा हुने सम्भावना छ।

‘आज दिनभर काठमाडौँ उपत्यकाको मौसम आंशिकदेखि साधारणतया बदली रहने र अपराह्नपछि मेघगर्जन÷चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ’, उनले भने।

मौसमविद्का अनुसार आंशिक बदली भनेको सम्बन्धित क्षेत्रको आकाशको २६ देखि ५१ प्रतिशत भागमा बादल लागेको अवस्था हो भने साधारणतया बदली भनेको ५१ देखि ७५ प्रतिशत आकाश बादलले ढाकेको अवस्था हो। यसैगरी हल्का वर्षा भनेको २४ घण्टामा १० मिलिमिटरभन्दा मुनि पानी पर्नु हो।

अहिले बिहान भने काठमाडौँ उपत्यकाको मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहेको मौसमविद् पुडासैनीले जानकारी दिए।

‘अहिले उपत्यकाको वायुको तापक्रम १८ डिग्री सेल्सियस छ, पारदर्शिता (भिजिबिलिटी) ४५ सय मिटर छ’, उनले भने।

आज बिहानको मापनअनुसार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १६.८ डिग्री सेल्सियस देखिएको उनले बताए।

उपत्यकाको अधिकतम तापक्रम भने आज २८ देखि ३० डिग्री सेल्सियससम्म पुग्ने सम्भावना रहेको जानकारी मौसमविद् पुडासैनीले दिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖